सुवास निराैला ।
बिशाल बजार कम्पनीको लफडा अझै सकिएन । लफडा नसकिएकै कारण सर्वसाधारण शेयरधनी मर्कामा परेका छन् । कम्पनीको सम्पत्तिका बिषयमा सरकार र शेयरधनी बिच विवाद चर्किएको पछि सर्बसाधारण शेयरधनी मर्कामा परेका हुन् । शेयरधनी र सरकार बिच बिबाद सुरु भएको पाँच वर्ष बित्नै लागिसकेको छ । तर समस्याले अझै निकास पाएको छैन ।
समयमै समस्याले निकास नपाउँदा सर्वसाधारण शेयरधनीले पाँच वर्ष यता लाभांश समेत पाएका छैनन् । बर्षौदेखि करोडौँ रुपैयाँ आर्जन गरिरहेको कम्पनीले साधारण सभा समेत गर्न सकेको छैन । साधारण सभा नभएको कारण सर्वसाधारण शेयरधनीले वार्षिक हिसाब किताब र लाभांश बुझ्न पाएका छैनन्।
- कम्पनीकाे सूचनाकाे माध्यम बन्द
साधारण सभा नभएकै कारणले संचालक समितिले अझै पूर्णता पाएको छैन । अपुरो संचालक समितिका कारण कार्यालयको काम कारबाही समेत व्यवस्थित हुन सकेको छैन । जसका कारण दैनिक काम समेत प्रभावित हुँदै आएको छ भने सर्वसाधारण शेयरधनीलाई उपलब्ध गराउने सूचनाका माध्यम समेत बन्द गरिएका छन् । सर्ब साधारणले सहज तरिकाले सूचना पाउने कम्पनीको वेभ साइट बिग्रिएको महिनौँ भई सक्यो तर बनाएर सुचारु गर्ने अग्रसरता कम्पनीले देखाएको छैन । जसले कम्पनीको भविष्य कता लम्किँदै छ भन्ने चिन्ता साधारण शेयरधनीमा बढ्दै गएको छ ।
सर्वसाधारणले त सूचना पाएका छैनन् नै । नियामक निकाय र सरोकारवालालाई नियमित बुझाउनु पर्ने बिवरण समेत नियमित हुन छाेडेकाे धेरै भइसकेको छ । सूचीकृत कम्पनीले त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्नु पर्ने, त्यसको जानकारी नेपाल धितोपत्र बोर्ड,नेपाल स्टक एक्सचेन्ज लगायतलाई गराउनु पर्छ । तर वोर्डलाइ भने जानकारी गराएको उसले दाबी गरेकाे छ । तर सर्वसाधारण शेयरधनीले भने नबुझाएको आरोप लगाउँदै आएका छन् । त्रैमासिक बिवरण उसले प्रकाशित नै गर्दैन ।





