१. तपाईंको स्वास्थ्य कस्तो छ ? स्वास्थ्यस्थिति ठिक थिएन भन्ने कुरा आएको थियो नि ?
स्वास्थ्यस्थतिमा केहि उतारचढाव आउनु उमेरको कुरा पनि होला । केहि समस्या थिए । अहिले म ठिक छु ।
२. बैंक अफ काठमाण्डूको जाहेरीपछि असोज ३ गते तपाईं पक्राउ पर्नुभयो, बैंकले के जाहेरी दिएको रहेछ ?
बैंकले जाहेरीमा के भनेर उल्लेख गरेको रहेछ भन्ने कुरा प्रहरीले अनुसन्धान सुरु गरेपछि मात्र मलाई थाहा भयो । जाहेरी दिइएको छ भनेर मलाई बैंकबाट फोन त आएको थियो तर यस्तो नै हो भनेर भनिएन । बैंकले पूरा विवरण खुलाएको भए मैले सोहिअनुसार तयारी गर्थ्यें । तर त्यस्तो भएन । पछि प्रहरीको अनुसन्धानका क्रममा एउटा ऋणको केसमा ऋणीहरुबिरुद्ध केस गर्दा हामी सबैलाई पक्राउ गरिएको थाहा भयो ।
३. तपाईं लामो समय थुनामा पर्नुभयो, यो घटनापछाडि बैंकिङ कसुरमै रहेका प्रावधान 'समस्या'का रुपमा रहेको पाउनुभयो वा बैंककै नियतमा प्रश्न गर्ने ठाउँ छ ?
यो कानुन अहिले आएको कानुन होइन । यो धेरै अगाडीको कानुन हो । समय बदलियो तर कानुन बदलिएन । मेरै घटनाको कुरा गर्ने हो भने, ऋणी र व्यवस्थापनको मिलेमतो थियो भन्ने कतै पनि देखिएन । तर पनि यो घटनामा धेरै जना फसे । मैले लामो समय थुनामा बस्नुपर्यो । यो कानुनमा कतिपय 'ग्यापहरु' छन् । बैंक आफैंले जाहेरी दिंदा यो कुरामा ख्याल गरिदिएको भए कुरा अर्कै हुने थियो होला । संस्थाले आफुले पनि कतिको अनुसन्धान गर्यो भन्ने कुरा ख्याल भएको भए कुरा अर्कै हुन्थ्यो होला । तर यहि कानुनलाई टेकेर हामीमाथि अनुसन्धानका नाममा कतै अन्याय त भएन भन्ने कुरा पनि धेरैले सोच्नुभएको होला । भलै यो घटना बाट बैंकरहरुले पाठ सिकेजस्तो लाग्छ । म पीडीत भएँ, त्यो आफ्नो ठाउँमा छ, तर यो घटनाले धेरैलाई धेरै कुरामा पाठ सिकाएजस्तो लाग्छ । बैंकिङ कसुर कानुनका ग्यापहरुलाई परिपूर्ति गर्नुपर्छ भन्ने आवाज पनि उठेका छन् । यो कुरामा सबैको ध्यान गएजस्तो लाग्छ । एउटा व्यक्ति वा संस्था पीडीत भएपछि समस्याका समाधान निस्किएका विश्वव्यापी उदाहरणहरु पनि छन् । यसपाली पनि यस्तै होस्, मैले केहि पीडा भोगेपनि क्षेत्रलाई अव राम्रो होस्, कानुनका केहि अफ़्ट्यारा प्रावधानहरु परिवर्तन हुन् ।