नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले पुस १४ गते सोमबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकम बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
केन्द्रीय बैंकले यसअघि जारी गरेर मिति समाप्त भएका ट्रेजरी बिलहरुको नवीकरण गर्न लागेको हो।
बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल मध्ये ९१ दिन अवधिको १० करोड रुपैयाँको ट्रजरी बिल आगामी चैत १८ गते परिपक्व हुनेछ भने ३६४ दिन अवधिको २ अर्ब रुपैयाँको बिल २०७७ पुस १४ गते परिपक्क हुनेछ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन बिडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। पुस १५ गते मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।