नेपाल राष्ट्र बैंकले चुनावी प्रक्रियाबाट सञ्चालक समिति चयन गर्न हिमालयन बैंकलाई निर्देशन दिएको छ। यससँगै बैंकमा श्रेष्ठ समूहबाट दुई दाजुभाएमध्ये एक एकको सञ्चालक पद गुम्ने र खेतान समूहको म्युचुअल ट्रेडिङ्गबाट प्रतिनिधित्व गर्ने सञ्चालक भित्रने सम्भावना बढेको हो।
राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गर्दै बैंक भित्रको लामो विवाद हटाएर ३० दिनभित्र सञ्चालक समिति सदस्य निर्वाचनबाट चयन गर्न निर्देशन दिएको हो।
यस्तै बैंकमा रहेको १५ प्रतिशत सर्वसाधारण स्वामित्व बढाएर ३० प्रतिशत कायम गर्न, बैंकको लघुवित्तहरुमा रहेको सीमाभन्दा धेरै स्वामित्व (शेयर लगानी) लाई १० प्रतिशतमा झार्न, लेखापरीक्षक र राष्ट्र बैंकको स्थलगत सुपरिवेक्षणमा उल्लेख गरिएको कैफियतहरु सुधार्न समेत निर्देशन दिएको राष्ट्र बैंकका अधिकारीले जानकारी दिए।
राष्ट्र बैंकको निर्देशनसँगै बैंकमा २२ वर्षपछि पहिलो पटक निर्वाचनबाट सञ्चालक चुनिने भएको छ। बैंकले गत आवको लाभांश घोषणा गरेपनि साधारण सभा आह्वान गरिसकेको छैन।
निर्वाचनबाट सञ्चालक समिति चयन हुने हो भने हाल मनोज बहादुर श्रेष्ठ र प्रचण्डबहादुर श्रेष्ठ दुई दाजुभाई नै सञ्चालक रहेकोमा एकले पद गुमाउनुपर्ने देखिन्छ भने सो स्थानमा खेतान समूहको प्रवेश बलियो सम्भावना रहेको छ। खेतान समूहको प्रवेश र चुनावबाट सञ्चालक चयन हुँदा १४ वर्षदेखि अध्यक्ष रहँदै आएका मनोज बहादुर श्रेष्ठको अध्यक्ष पद समेत धरासायी हुने भएको छ।
अहिले बैंकमा श्रेष्ठ समूहबाट २ जना, हबिब, सञ्चयकोष, राणा र विज्ञ बाट एक/एकजना गरी ७ जना सञ्चालक छन्। खेतान समूहभन्दा कम स्वामित्व भएपनि श्रेष्ठ समूहबाट प्रचण्डबहादुर श्रेष्ठ पनि सञ्चालक रहँदै आएका छन्।
आफ्नो समूहबाट सञ्चालककको आडमा बैंकभित्र संस्थागत सुशासन विगारेको, नियमनकारी निकायको निर्देशनको वेवास्ता र आफूखुशी निर्णय गर्ने गरेको भन्दै नेपाल राष्ट्र बैंकमा बैंकको सञ्चालक समिति र यसका हालका सञ्चालकविरुद्ध मुद्धा र उजुरी समेत परेको छन्। उजुरी पश्चात नेपाल राष्ट्र बैंक र श्रेष्ठ समूहको भूमिकालाई लिएर अन्य सञ्चालकहरुमा समेत असन्तुष्टी रहेको बताइन्छ।
बैंकमा हबिब बैंक पाकिस्तानको २० प्रतिशत (हाल बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडीसी)लाई बिक्री गरेर बाहिरिन खोजेको छ) सर्वसाधारणको १५ प्रतिशत, कर्मचारी सञ्चयकोषको १४ प्रतिशत, मनोजबहादुर श्रेष्ठको एन ट्रेडिङ कम्पनीको १२.७१ प्रतिशत, खेतान समूहको म्युचुअल ट्रेडिङको ११.८५ प्रतिशत तथा राणा समूहको आभा इन्टरनेशनलको ११.३८ प्रतिशत र मनोजबहादुर श्रेष्ठका भाईको छायाँ इन्टरनेशनलको ८.८९ प्रतिशत शेयर लगानी छ।








