बैंकको संख्या घटाउने पक्षमा थियौं, ग्लोबल आईएमईसँग सोच मिलेपछि मर्ज भयौं : सीईओ कुँवर
कमै मानिसले जीवनमा चाहेकै कुरा हासिल गरेका हुन्छन् । कुनै समय नामी प्राध्यापक बन्ने सपना देखेका पर्शुराम कुँवर समय क्रममा बैंकर बने । बैंकिङ यात्राको ३५ वर्षमा लाग्दै गर्दा जनता बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका उनले शुक्रबारबाट ग्लोबल आईएमईसँग मर्ज भएर बनेको संस्थाको नेतृत्व गरेका छन् ।
पर्शुराम कुँवरले शुक्रबारबाट नेतृत्व लिएको ग्लोबल आईएमई बैंक आजको मितिमा नेपालको सबभन्दा धेरै पुँजी, निक्षेप र कर्जा भएको वाणिज्य बैंक बन्न पुगेकाे छ । मर्जरपछि यो बैंकको चुक्ता पुँजी १९ अर्ब रूपैयाँ पुग्नेछ, जुन हालसम्मका वाणिज्य बैंकहरु मध्येकै उच्च हो । नवनियुक्त सीईओ कुँवर भन्छन्, ‘दुवै बैंक राम्रा हुन्, यी मिलेर बनेको बैंकमा काम गर्न पाउनु अवसर पक्कै पनि हो, तर मैले केही चुनौतीको रुपमा पनि लिएको छु ।’
अब ग्लोबल आईएमई बैंकको कूल निक्षेपको आकार २ खर्ब १० अर्ब र कर्जा लगानी २ खर्ब हुनेछ । शाखा कार्यालय ३०० हाराहारी पुग्नेछन् । बैंकका एटिएम २५६ र २४१ शाखारहित बैंकिङ्ग सेवा, ३३ एक्सटेन्सन कायम हुनेछन् । यसैगरी बैंकका कर्मचारी तीन हजार २५० भन्दा बढी हुनेछन् भने ग्राहक संख्या २० लाख नाघ्नेछ ।
शिक्षण पेशा छाडेर बैकिङतिर
पुर्ख्यौली थातथलो कास्कीको पोखरा भए पनि बुवाको जागिरका कारण पर्शुरामको बाल्यकाल भारतको मुम्बईमा बित्यो । भोगचलन नभएको व्यक्तिको जग्गा सार्वजनिक हुने हल्ला चलेपछि ०२४ सालमा कुँवर परिवार पोखरा फर्कियो । त्यसबेला पर्शुराम नौ वर्षका थिए ।
उनले एसएलसीदेखि बीकम (वाणिज्य शास्त्रमा स्नातक) सम्मको पढाई पोखरामै पूरा गरे । आईकम र बीकम तहमा त विश्वविद्यालय प्रथम नै भए । त्यसपछि उनी एमबीए पढ्न चाहन्थे, तर पोखरामा त्यो सुविधा थिएन । अन्ततः अर्थशास्त्र पढ्न पृथ्वीनारायण क्याम्पसमा फारम भरेको उनी बताउँछन् ।
त्यसबेला पृथ्वीनारायण क्याम्पसमा प्रध्यापक परिवर्तन भइरहन्थे । बाहिरबाट आएका प्राध्यापकहरु धेरै समय नबस्ने हुँदा क्याम्पस समस्यामा थियो । ‘मेरो मार्कसिट हेरेपछि सहायक डीन शिवपुजन यादवले काठमाडौं जाऊ भन्नुभयो’, कुँवर सम्झन्छन्, ‘तिमी स्थानीय भएका कारण काठमाडौंमा एमबीए नै गरेर पढाउन पोखरा फर्क भन्नुभयो । मेरो रुचि पनि अध्यापन नै थियो ।’
उनी जसोतसो काठमाडौं आएर शंकरदेव क्याम्पसमा भर्ना भए ।
क्याम्पसमा भर्ना भएकै बेला कुँवरलाई शिक्षणको अनुभव लिन मन लाग्यो । नागार्जुन स्कूलमा अंग्रेजी पढाउन थाले । त्यसबेला क्याम्पसको परीक्षा सरेको सर्यै गर्थ्यो । नतिजा आउन उत्तिकै ढिलो हुन्थ्यो । बल्लबल्ल दिन पाएको एमबीए पहिलो वर्षको नतिजा ढिलै आयो । कुवँर भन्छन्, ‘त्यो पनि सन्तुष्ट हुन सकिने खालको आएन ।’
सधैं प्रथम भएका उनको मन एमबीएको रिजल्टले मोडिदियो । हल्काफुल्का सर्टिफिकेट बोकेर कक्षा कोठामा नपस्ने सोच बनाएका उनले त्यही बीचमा चारवटा बैंकमा खुलेको जागिरका लागि आवेदन दिए । तीमध्ये तत्कालीन इन्डोस्वेज बैंक (हाल नेपाल इन्भेष्टमेन्ट बैंक) ले लिखित परीक्षामा बोलाउँदै बोलाएन ।
बाँकी तीनवटाको लिखित परीक्षामा उनी उत्तिर्ण भए । कामचाहिँ ग्रीनलेज (हाल स्टाण्डर्ड चार्टर्ड) मा शुरु गरे । कुँवर भन्छन्, ‘नेपाल बैंकको अन्तरवार्तामा नगई २०४२ सालदेखि सहायक तहबाट ग्रीनलेज बैंकमा काम शुरु गरेँ ।’
करिअरमा उतार चढाव
...