काठमाडौं । चालू आर्थिक वर्षको बजेटमा नेपाली नागरिकले सम्पत्तिका रूपमा आर्जन गरेका सुन र चाँदी लगायत बहुमूल्य धातुहरू बैंकमा निक्षेपको रूपमा जम्मा गर्ने व्यवस्था गर्ने सरकारको घोषणा हालसम्म पनि कार्यान्वयनमा आउन सकेको छैन ।
नेपाल राष्ट्र बैंकले कार्यविधि बनाउन चासो नदेखाउँदा मौद्रिक नीतिमा समेत समेटिएको उक्त कार्यक्रम अघि बढ्न सकेको छैन । यसबारे अर्थमन्त्री डा. युवराज खतिवडाले चासो देखाएका छन् । गत हप्ता अर्थ मन्त्रालयमा आयोजित विकास समाधान समितिको बैठकमा गभर्नर डा. चिरञ्जीवी नेपाललाई तत्काल कार्यविधि बनाउन अर्थमन्त्री खतिवडाले निर्देशन दिएको मन्त्रालय स्रोत बताउँछ ।
‘बजेट कार्यान्वयनमा राष्ट्र बैंकले तदारुकता नदेखाएकोप्रति अर्थमन्त्रीको चासो थियो, कार्यविधि बनाएर तत्काल उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्रीले निर्देशन दिनुभयो,’ बैठकमा सहभागी अर्थ मन्त्रालयका एक सहसचिवले बताए ।