काठमाडौँ । राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा वित्तीय संस्थाले आफ्नो चुक्ता पुँजीको २५ प्रतिशत ऋणपत्र (डिबेन्चर) जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था गर्यो । यसले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकमको अभावलाई पूर्ति गर्न सहयोग पुग्ने विश्वास गरियो । अर्कोतर्फ लगानीको विकल्प खोजिरहेका लगानीकर्ताका लागि भरपर्दो र उत्तम प्लेटफम पनि बन्न सक्ने भयो । अझ साना लगानीकर्ताका लागि त यो सबैभन्दा उत्कृष्ट प्लेटफम भएको बैंकरहरु दाबी गर्छन् । शेयर बजारमा आउने उतार चढावले अहिले लगानीकर्ताहरु अलि तर्सिएको अवस्था छ । यस्तोमा बैंकहरुले जारी गर्ने ऋणपत्र लगानीकर्ताका लागि गतिलो विकल्प बनेर आएको छ । बैंकमा निक्षेप राख्दा ९ प्रतिशतको हाराहारीसम्म मात्रै ब्याजदर पाइने तर ऋणपत्रमा लगानी गर्दा १०.२५ प्रतिशत ब्याजदर पाइने भएकाले यो सुरक्षित मात्रै होइन प्रतिफलका हिसावले पनि उचित भएको बताइएको छ ।
राष्ट्र बैंकको व्यवस्थाअनुसार सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्यो । गत कात्तिक २० गतेबाट जारी ऋणपत्रका लागि मंसिर १९ गते बिहीबार दिउँसो ३ बजेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले गत चैत्रमा कुल १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको थियो । प्रति कित्ता एक हजार अङ्कित मूल्य रहेको ऋणपत्रमा ४० करोड बराबरको ऋणपत्र सर्वसाधारणलाई र बाँकी ६० करोड बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट अन्य कम्पनीहरुलाई बिक्री गरेको थियो । बैंकले ‘१०५ सनराइज डिबेन्चर २०८०’ नाम रहेको उक्त ऋणपत्र वार्षिक १० प्रतिशतका दरले ब्याज दिने र प्रत्येक ६ महिनामा ब्याज भुक्तानी गर्ने गरी पाँच वर्षको लागि ल्याएको थियो ।








