वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको आगामी १९ गते हुने साधारणसभाले नयाँ नेतृत्व चयन गर्दै छ। साधारणसभाले अगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गर्न लागेको हो ।
आगामी २ बर्षको लागि सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललाई अध्यक्ष बनाउने सहमति भएको स्रोतले जनाएको छ। संघका वर्तमान अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले सर्वसम्मत भए आफु दोहोरीन तयार रहेको बताएका थिए । उनले आफुलाई अर्थमन्त्रीले पनि एक कार्यकाल अझै बस्न सुझाव दिएको भन्दै संघको बैंठकमा थप एक कार्यकालको लागि नेतृत्व प्रदान गर्न आग्रह समेत गरेको एक बैंकरले बिजपाटीलाई बताएका थिए । तर संघमा एक ब्यक्तिले दुई कार्यकाल दोहर्योउने भन्दा नयाँ ब्यत्तिलाई अवसर दिनुपर्ने मत उठेपछि उनी ब्याक भएका हुन् । यस संगै दाहालको नाममा सहमति भएको स्रोतले जनाएको छ ।
संघमा उपाध्यक्षलाई अध्यक्ष बनाउने अनौपचारीक सहमति भएपनि वर्तमान उपाध्यक्ष नेपाल एसवीआई बैंकका अनुकुल भट्नागरले अध्यक्ष नबन्ने जनाएका थिए । साथै सरकारी निकायबाट पनि सकेसम्म विदेशी नागरीकलाई अध्यक्ष नबनाउन सुझाव आएको भन्दै संघमा अध्यक्षको खोजी भएको थियो ।
संघका पुर्व अध्यक्ष अनील केशरी शाहले सुरुमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीलाई अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । तर क्षेत्रीले बैंकको मर्ज प्रक्रियामा रहेको र त्यपसछी पनि मर्जरलाई ब्यबस्थित बनाउन चुनौति हुने हुनाले संघमा समय दिन नभ्याउने भन्दै अध्यक्ष बन्न अस्वीकार गरेको स्रोतको दाबी छ । संघ भित्रबाट अनिल केशरी शाहलाई पनि अध्यक्ष बन्न प्रस्ताव आएको थियो । ठुलो बैंकको सिइओलाई अध्यक्ष बनाउन सके संघको सबै क्षेत्र र बैंकहरुलाई मिलाएर अगाडी लैजाने सक्ने भन्दै यस्तो प्रस्ताव आएको थियो । अघिल्लो कार्यकालमा पुरा समय काम गर्न नपाएका शाह अध्यक्ष बन्न उपयुक्त पात्र भएको अन्य बैंकहरुले बताएका थिए । यस विषयमा बिजपाटीले शाहलाई प्रश्न गर्दा आफ्नो कुनै मनासाय नरहेको तर साथिहरुले भने प्रस्ताव गरिरहेको उनले बताएका थिए ।







