सन १९९१ मा नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका अनिल शाह ८ बर्षपछि नबिलमा नै प्रमुख कार्यकारी अधिकृतको भूमिका छन् । उनले नबिलमा दोस्रो इनिंङ थालेको एक बर्ष पुरा भएको छ। उनले पहिलो कार्यकालमा नबिलको ब्राण्ड बनाउन ठुलो भूमिका खेलका थिए । तर उनको दोस्रो कार्यकाल उत्साहजनक हुन् नसकेको बजार चर्चा चल्न थालेको छ । नम्बर वान बैंकको ताज पाएको नबिललाई अहिले विभिन्न सूचकमा अन्य बैंकहरुले उछिन्न थालेका छन् ।
यसै सन्दर्भमा बिजपाटी डटकमको तर्फबाट मोहम्मद अजमत अली र विजय पराजुलीले प्रमुख कार्यकारी अधिकृत अनिल शाहसंग बैकिंङ क्षेत्रको अवस्था, मर्जर नीति, संचालकको हस्तक्षेप, लगायतका अन्य समसामयिक विषयमा कुराकानी गरेका छन् । प्रस्तुत् छ कुराकानीको सम्पादित अंश :
नेपाल राष्ट्र बैंकले लिएको मर्जर नीतिमा नबिल बैंक कहाँ छ ?
मर्जर आफैंमा राम्रो वा नराम्रो भन्ने कुरा होइन। युवायुवतीलाई बिहे गर्न ठिक कि बेठिक भनेर सोधेजस्तै हो। कुनै संस्थालाई मर्जर एकदमै ठिक वा आवश्यक हुन् सक्छ , तर कसैको लागि मर्जर तथा प्राप्ति आवश्यक नहुन सक्छ। जहाँसम्म नबिल बैंकको कुरा छ हामी स्पष्ट छौं। आज पनि नबिल ठुलो बैंकका रुपमा छ, तर यो भन्दा ठुलो बन्न चाहान्छौ। २ अर्बबाट ८ अर्ब पुंजी पुर्याउनुपर्दा अरुले एफपीओ, हकप्रद निष्काशन गरे तर नबिलले त्यस्तो केहि गरेन। त्यसै गरी हामी आफै ठुलो बन्न सक्षम छौ ।
नत नबिल बैंकका प्रमोटरले पैसा राख्न पर्यो नत कसैलाई प्राप्ति वा मर्जर गर्यो। आफ्नो आम्दानी र जगेडाबाट पुंजी ८ अर्ब पुर्यायौं। यसैगरि आउने दिनमा पनि नबिलआफैं ठुलो हुने लक्ष्य छ। राष्ट्र बैकंलाई जुन आकारको कमर्शियल बैंक चाहिन्छ, त्यहि आकारको बैंक बन्नलाई नबिल आफैं सक्षम छौं। तर यति भन्दाभन्दै पनि नबिलले मर्जर वा प्राप्तिका लागि पनि हेरिरहेको छ । ठिक सँस्था पाए नबिल पनि मर्जर वा प्राप्तिमा जान्छ। सकेसम्म आफैं ठुलो बन्ने हो तर कुनै राम्रो संस्था भएमा मर्जर वा प्राप्तिमा जाने विकल्प खुला छ ।







