११ मंसिर, काठमाडौं । राजधानीका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको खुलेको छ । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले चोरीमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसक्यो । त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान गरिरहेका छौं ।’
पक्राउ परेका सबै नेपाली नागरिक हुन् । दिउँसो साढे ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी तयारी छ ।
रकम चोरी गर्न प्रयोग भएको शैली हेर्दा बैंकका कर्मचारीको सहयोगविना सम्भव नदेखिने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । त्यही आधारमा अनुसन्धानको दायरालाई साँघुरो बनाइएको प्रहरी स्रोतले बतायो ।