काठमाडाैँ – चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका ‘ख’ वर्गका विकास बैंकमध्ये सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ। यसले अन्य क्षेत्रीय तथा राष्ट्रिय स्तरका विकास बैंकलाई पछि पारेको छ।
हालै सार्वजनिक चालु वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार गत साउनदेखि असोजसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा करिब ६ प्रतिशतले बढेको छ। बैंकले यो वर्षको पहिलो तीन महिनामा २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बंैकले गत आवको सोही अवधिमा २१ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
त्यसैगरी, कामना सेवा विकास बैंकले चालु आवको पहिलो तीन महिनामा ३० प्रतिशले नाफा वृद्धि गरेको छ। गत वर्ष १४ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको बैंकले चालु अवाको असोज मसान्तसम्म १८ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कैलाश विकास बैंकले चालु आवको पहिलो त्रैमासमा १७ करोड पाँच लाख रुपैयाँ खुद नाफा गरेको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा करिब ७ प्रतिशत बढी हो। बैंकले गत आवको सोही अवधिमा बैंकले १६ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो। त्यसैगरी, ज्योति विकास बैंकले चालु आवको पहिलो त्रैमासमा अघिल्लो वर्षको तुलनामा शतप्रतिशतभन्दा बढी नाफा बढाएको छ। यसको नाफा ११८ प्रतिशतले बढेको छ। गत वर्ष पहिलो त्रैमासमा ६ करोड ३३ लाख रुपैयाँ कमाएको ज्योतिले यसपालि १३ करोड ७९ लाख रुपैयाँ कमाएको हो।









