मंसिर ४, काठमाडौं । गत असार २० गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई बैंक र जनता बैंकले प्रस्तावित लाभांश पारित गरेका छन् । दुवै बैंकले सोमवार वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश पारित गरेका हुन् । ग्लोबलले यस वर्ष १२ दशमलव ७५ प्रतिशत बोनस र १२ दशमलव ७५ प्रतिशतनै नगद लाभांश दिने प्रस्तावलाई अन्तिम रुप दिएको हो भने जनताले ६ प्रतिशत बोनस शेयर र ६ प्रतिशतनै नगद लाभांश दिने प्रस्ताव पारित गरेका हुन् ।
ग्लोबलको लाभांश मर्जर प्रयोजनका लागि असार २२ गतेदेखि शेयर कारोबार बन्द रहेकाले कात्तिक २० गतेसम्म कारोबार भई २८ गतेभित्र शेयर रजिष्ट्राराको कार्यालयमा नाउँसारी भई आएकाहरुले मात्र प्राप्त गर्न सक्नेछन् । त्यस्तै, जनताले साधारण सभा र लाभांश प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गरेकाले कात्तिक १३ गतेसम्म कायम सदस्यहरुले लाभांश प्राप्त गर्न सक्नेछन् ।
ग्लोबलको १२ दशमलव ७५ प्रतिशत बोनश शेयरपश्चात चुक्तापूँजी रू. ११ अर्ब ७६ करोड ७१ लाख ७१ हजार पुग्नेछ भने जनताको रू. ८ अर्ब ४८ करोड ८ लाख ३२ हजार पुग्नेछ । मर्जरपश्चात ग्लोबल आइएमई बैंकको चुक्तापूँजी रू. २० अर्ब २४ करोड ८० लाख ३ हजार पुग्ने देखिन्छ । दुवै बैंक गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता कात्तिक ८ मा भई मंसिर भित्र एकिकृत कारोबार सुरु गर्ने योजना अनुसार काम भईरहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । बैंकले अधिकृत पूँजी रू. १६ अर्बबाट वृद्धि गरी रू. २५ अर्ब कायम प्रस्तावलाई समेत सभाले पारित गरेको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो र सबल बन्ने बताउदै उनले सेवाग्राहीको माग बमोजिमका सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।