काठमाडाैँ – ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ।
बैंकले आव २०७५/७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो। बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ। साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ। सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिप्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ।
साधारणसभाले बैंकको अधिकृत पूँजी रु १६ अर्बलाई वृद्धि गरी रु २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ। बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्सिरभित्र एकीकृत कारोवार सुरु गर्ने योजना रहेको बताए। मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै उहाँले शेयरधनीको आकाङ्क्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।