बर्षौंदेखिको 'एक नम्बर' को ताज खोसीन थालेपछि नबिल बैंकका संचालक तथा मालिक निर्वाण चौधरीले संचालनमा नै प्रत्यक्षरुपमा हस्तक्षेप गर्न थालेका छन।
सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक र निजि लगानीको दोस्रो पुस्ताको एनआईसी एसिया बैंकले धेरै सूचकमा जितेपछि आफ्नो शाख जोगाउन निर्वाण चौधरीले प्रत्यक्ष कार्यकारीकै हैसियतमा बैंकमा काम गर्न थालेको बैंक स्रोतको दाबि छ।
'निर्वाण चौधरीले बैंक संचालन तथा व्यवस्थापन जस्तो दैनिक काममा प्रत्यक्ष रुपमा भाग लिएका छन, बैंकले आफ्नो रणनीतिमा नै ठुलो फेरबदल गरेको छ' स्रोत भन्छ, 'एक नम्बरको ताज फिर्ता ल्याउन आन्तरिक र बाह्य सुधारको काम सुरु भईसकेको छ, बजारमा अब त्यसको असर देखापर्छ'।
बैंकले बेलायतको प्राइस वाटर हाउस कुपर (पिडब्लुसी) कम्पनीको सहयोगमा बिगत ९ महिनादेखि बैंकको आन्तरिक तथा बाह्य अवसर र चुनौती तथा अन्य सूचकहरुको गहन अध्ययन गरेको र त्यसकै आधारमा नयाँ रणनीति तय गरेको छ।
बैंकले लिएका नयाँ रणनीति अनुसार अन्य बैंक वित्तीय संस्थाबाट आन्तरिक रुपमा कर्मचारी भर्ना गर्नलाई संचालक समितिलाई मात्र दिइएको अख्तियारी अहिले बैंकको सीईओलाई दिइएको छ।
त्यस्तै शाखा बिस्तारमा समेत आक्रामक रुपमा अगाडी बढ्ने योजना बनेको छ। अबको केहि महिनाभित्र थप ४० वटा शाखा बिस्तार गर्ने बैंकको योजना रहेको बताइएको छ।







