काठमाडौं : सनराइज बैंकले ऋणपत्र बिक्री नभएपछि म्याद थप गरेको छ । पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर मंसिर १९ गतेसम्म पुर्याइएको हो । ऋणपत्रमा सर्वसाधारणको चासो अत्यन्त कम छ । मुद्दति निक्षेपमै १०% हाराहारीमा ब्याज पाइने भएपछि ऋणपत्रतर्फ लगानीकर्ताको ध्यान नगएको हो । लामो समय होल्ड गर्न पर्ने, दोस्रो बजारबाट लाभ लिन नसकिने भएकाले पनि लगानीकर्ता यसमा विकर्षित भएका हुन् ।
यसको तुलनामा सेयर बजारमा केही जोखिम भए पनि पुँजीगत लाभको सम्भावना अधिक हुन्छ । लाभांश पनि पाउन सकिने र पुँजीगत लाभ समेत हुने भएकाले लगानीकर्ता जोखिम लिएर पनि सेयरमै लगानी गर्छन् । जोखिम लिन नचाहनेले बैंक मुद्दति निक्षेपमा राख्नेहरु अधिक हुन्छन् । ऋणपत्रमा पाइने जति नै ब्याज मुद्दति निक्षेपमा पनि पाइन्छ ।
सनराइज बैंकले कात्तिक २० गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला भएको हो । यस्तै, सामूहिक लगानी कोषलाई ५% छुट्याएको छ । यस आधारमा सामूहिक लागानी कोषहरुले कुल ६० हजार इकाई पाउनेछन् । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
...








