काठमाडाैं – नेपाल राष्ट्रबैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा एक अर्ब ६३ करोड ९४ लाख रुपैयाँ निक्षेपका रुपमा राख्ने भएको छ।
बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजी अभाव भएका बेला राष्ट्र बैंकले राख्ने यो रकमले उनीहरुलाई सहयोग पुग्नेछ।
राष्ट्र बैंकका सह–प्रवक्ता गोविन्दप्रसाद नागिलाले राष्ट्र बैंकको विभिन्न कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्ने उद्देश्यलेबैंक तथा वित्तीय संस्थालाई निवेदन आह्वान गरेको जानकारी दिए।
राष्ट्र बैंकले यसअघि पनि एकवर्षे मुद्दती खातामा कोषको रकम लगानी गर्दै आएको बताउँदै उनले भने, ‘लगानीयोग्य रकमबैंक तथा वित्तीय संस्थामा जम्मा गर्नु नियमित प्रक्रिया हो। इच्छुकबैंक तथा वित्तीय संस्थालाई आवेदन खुला गरिएको छ।’
राष्ट्रबैंकले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुनेगरी क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थामा उक्त रकम मुद्दती खातामा राख्न लागेको उनले जानकारी दिए।
उक्त रकममध्ये क वर्गका वाणिज्य बैंकमा एक अर्ब ३१ करोड, ख वर्गका विकास बैंकमा २४ करोड ५९ लाख र ग वर्गका फाइनान्स कम्पनीमा आठ करोड १९ लाख रुपैयाँ मुद्दती खातामा राख्ने तयारीमा राष्ट्रबैंकले छ।








