झापा । नक्कली कागजात तयार गरी रु चार करोड ६० लाख ठगी गरेको आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । राजमार्गसँग जोडिएको जग्गा देखाएर खोलाको बगर धितो राखी ठगी गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली कागजात बनाएर काठमाडौँ–३१ का सुरेन्द्र श्रेष्ठले सञ्चालन गरेको स्वर्णिम एण्ड श्रीजन कम्पनीको लागि बैंक अफ काठमाण्डू बैंकबाट रु चार करोड ६० लाख कर्जा निकालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमा सुनसरी इटहरीका एभरेष्ट कन्सल्टेन्सीका इञ्जिनीयर भेषराज खत्री, मोरङ बेलबारी–३ का इञ्जिनीयर कर्ण चामलिङ, मकवानपुर हेटौँडा–४ घर भई काठमाडौं–३१ नयाँ बानेश्वरमा बस्दै आएका सुरेन्द्र श्रेष्ठ, काठमाडौँ–३ महराजगञ्ज चक्रपथका भुपेन्द्र श्रेष्ठ, चितवन भण्डारा–९ घर भई हाल काठमाडौँ नयाँ बानेश्वरमा बस्दै आएका ऋषिश्वर थपलिया, उदयपुर गाईघाट घर बताउने हाल काठमाडौँ–७ चाबहिलमा बस्दै आएका कृष्ण कार्की रहेका छन् ।