ग्लोबल आईएमई बैंक (GBIME) ले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांश सूचकहरुमा प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यद्यपी बैंकको वितरणयोग्य मुनाफा घटेको छ भने स्प्रेडदर बढ्नका साथै पूँजी कोष अनुपातमा सुधार गर्न सकेको छैन।
जनता बैंकसँग मर्जर प्रकृयामा रहेको यस बैंकले निस्क्रिय कर्जा अनुपात घटाउँदै निक्षेप संकलन, कर्जा परिचालन, ब्याज आम्दानी र खुद मुनाफामा बढोत्तरी गरेर अगाडि बढेको छ । बैंकको यो रफ्तार जनता बैंकलाई आफुमा गाभेपछिको दोस्रो त्रैमासमा प्रतिवेदनमा अझ फराकिलो तबरले सबल बन्ने देखिन्छ।
बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा ७५ करोड ३१ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा ४०.५५ प्रतिशतले धेरै हो। गत आवको असोजमा बैंकको मुनाफा ५३ करोड ५८ लाख ४५ हजार रहेको थियो।
एनएफआरएस प्रणालीको प्रतिवेदन अनुसार बैंकको विवरणयोग्य मुनाफा २८ करोड ११ लाख रुपैयाँ छ। अघिल्लो आवको प्रथम तीन महिनामा बैंकको यस्तो मुनाफा ५१ करोड रहेको थियो। यद्यपी बैंकले ७७ करोड ३१ लाख ७३ हजार रुपैयाँमा रहेको बैंकको सञ्चालन नाफा बढाएर एक अर्ब ४ करोड २३ लाख रुपैयाँ पुगेको छ। यसैगरि खुद ब्याज आम्दानी पनि एक अर्ब २० करोडबाट ३६ करोड ४७ लाख बढाएर एक अर्ब ५६ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ।
बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिना अवधिको तुलनामा ८ अर्ब ९० करोडले निक्षेपमा वृद्धि गर्दै एक खर्ब २८ अर्ब ९९ करोड २ लाख पुर्याएको छ । यसैगरि कर्जा लगानीतर्फ पनि ९ अर्ब ५० करोड ९५ लाख रुपैयाँले वृद्धि गर्दै एक खर्ब १८ अर्ब ४८करोड रुपैयाँ प्रवाह गरेको छ।