निक्षेप तान्न ब्याजदरमा बदमासी गरेको उजुरीपरेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारि गरेको छ। बैंकर्स संघका पदाधिकारीले उजुरी गरेपछि राष्ट्र बैंकले कात्तिक ६ गते २८ वटै बाणिज्य बैंकहरुलाई सर्कुलर जारि गर्दै निक्षेप तान्न नियम बिपरित काम नगर्नलाई चेतावनी दिएको हो।
नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले एक सर्कुलर जारी गर्दै ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारबाही गर्ने चेतावनी दिइएको छ।
‘बोलकबोलबाट संकलन हुने संथागत मुद्दति निक्षेपको हकमा इजाजतप्राप्त संस्थाहरुले प्रकाशित गरेको ब्याजदरम १ प्रतिशत बिन्दूसम्म थपघट गरी निक्षेप संकलन गर्न सकिने निर्देशनको व्यवस्थाको कुनै कुनै इजाजतप्राप्त संस्थाले पालना नगरेको भन्ने गुनासो आएको हुँदा उक्त निर्देशनको अक्षरस पालना गर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ,’ सर्कुलरमा भनिएको छ,‘उक्त निर्देशनको उल्लंघन भएमा निर्देशन नं. २२/०७५ को बुँदा नं. ४९ बमोजिम कारबाही भैजाने व्यहोरा समेत जानकारी गराउँदछु ।’
केहि बाणिज्य बैंकहरुले संस्थागत निक्षेप आकर्षण गर्नलाई प्रकाशित ब्याजदरमा १ प्रतिशत भन्दा बढी ब्याजदर अफर गरेको उजुरी परेपछि अहिले २८ वटै बाणिज्य बैंकलाई पत्र काटिएको नियमन बिभागले जनाएको छ।







