काठमाडौं । देशको अर्थतन्त्रले अहिले कस्तो गति लिइरहेको छ भन्ने आम चासो र जिज्ञासा छ । यही चासो र जिज्ञासालाई नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले निवारण गरेको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल देशको अर्थव्यवस्था मिश्रित खालको छ । चालु आर्थिक वर्ष (२०७६÷०७७) को दुई महिनालाई आधार मान्ने हो भने अर्थतन्त्र केही सकारात्मकतातर्फ उन्मुख देखिएको छ । यद्यपि, केही सूचकले भने कहालीलाग्दो स्थिति सृजना गर्ने अवस्था पनि देखाएको छ ।
अर्थतन्त्रका राम्रा सूचक
आयात घट्नु निर्यात बढ्नु : देशको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र हो । आयात र निर्यातको खाडल कहालीलाग्दो छ । यद्यपि, पछिल्लो केही महिनामा आयात निर्यातको खाडल थोरै भएपनि साँघुरिदै गएको देखिन्छ । आयात १.२ प्रतिशतले घटेको छ भने निर्यात २५.९ प्रतिशतले बढेको छ । विज्ञहरु यसलाई अर्थतन्त्रको सकारात्मक सुधार मान्छन् ।
सोधानान्तर स्थिति बचतमा : देशमा भित्रने रकमको तुलनामा बाहिरिने रकम बढेपछि सोधानान्तर स्थिति घाटामा जान्छ । तर अहिले सोधानान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .२५ अर्ब ४५ करोडले घाटामा रहेको थियो ।
विदेशी विनिमयको सञ्चितिमा वृद्धि: कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भइ २०७६ भदौ मसान्तमा १० खर्ब ७८ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ अर्ब ४४ करोड कायम भएको छ ।
अमेरिकी डलरको सञ्चिति घटेपनि समग्रमा वृद्धि देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।








