नेपाल राष्ट्र बैंकले २ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। सरकारलाई आवश्यक रकम जुटाउन राष्ट्र बैंकले कार्तिक ७ गते बिहीबार ९१ दिन र ३६४ दिन अवधिको उक्त रकमको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो।
बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये १० करोड रुपैयाँ ९१ दिन अवधिका लागि छ भने २ अर्ब रुपैयाँ ३६४ दिन अवधिको छ। बैंकले बिक्री गर्न लागेको ९१ दिने अवधिको ट्रेजरी बिल आगामी माग १४ गते परिपक्क हुनेछ भने ३६४ दिन अवधिको २०७७ कार्तिक ११ गते परिपक्क हुनेछ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा बिहीबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। कार्तिक ८ गते शुक्रबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन्।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।








