६ कात्तिक, काठमाडौं । मुलुकको केन्द्रीय बैंकका रूपमा रहेको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालले यस वर्ष अवकाश पाउँदैछन् । तर, उनले अवकाश पाउन पाँच महिना बाँकी रहँदै नयाँ गभर्नरको दौड सुरु भइसकेको छ ।
राष्ट्र बैंकको गभर्नर अर्थमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्नुपर्छ । यसका लागि उच्च राजनीतिक तहसम्म चलखेल र दाउपेच हुने गरेको छ । आकांक्षीहरूले सत्तारूढ दलका शीर्ष नेताको दैलो चहार्ने क्रम अहिले नै सुरु गरेको स्रोत बताउँछ । स्रोतका अनुसार गर्भनरका लागि अहिले नै आधा दर्जन आकांक्षी देखा परिसकेका छन् ।
नेपाल राष्ट्र बैंकका १६ औं गभर्नर हुन् । उनी ४ वर्षअघि नियुक्त भएका थिए । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको आर्थिक सल्लाहकार रहेका उनलाई कांग्रेस नेतृत्वको सरकारले सल्लाहकारबाट राजीनामा दिन लगाएर गभर्नर नियुक्त गरेको थियो । नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ ।
बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय राष्ट्र बैंकलाई सरकारको प्रमुख आर्थिक सल्लाहकार मानिन्छ । नेपाली मुद्रा छपाइ तथा व्यवस्थापनसमेत यसको कार्यक्षेत्रमा पर्ने भएकाले राष्ट्र बैंकको गभर्नर महत्त्वपूर्ण र आकर्षक पद हो । यसमा नियुक्त हुन सानो पहुँचले पुग्दैन ।
वरीयतामा गभर्नर नेपाल सरकारको सचिवभन्दा माथि हुने व्यवस्था छ । राष्ट्र बैंक सञ्चालक समितिको अध्यक्ष गभर्नर नै रहन्छ भने उक्त समितिको सदस्य अर्थमन्त्रालयका सचिव हुने व्यवस्था छ ।