एनएमबि लघुवित्त वित्तीय संस्था (NMBMF) ले चालु आर्थिक वर्ष २०७६/०७७ को प्रथम त्रैमासमा एक करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो अघिल्लो आवको यसै अवधिको तुलनामा एक करोड ४२ लाख रुपैयाँले धेरै हो।
अघिल्लो आवको यसै अवधिमा लघुवित्तले १० लाख १७ हजार खुद मुनाफा आर्जन गरेको थियो। अघिल्लो आवमा खराब कर्जा नोक्सानी वापत रकम व्यवस्थापन गर्दा लघुवित्तको खुद नाफा उल्लेखनीय रुपमा घटेको थियो।
चालु आवको पहिलो तीन महिनामा लघुवित्तले कर्मचारी खर्च र अन्य सञ्चालन खर्च वृद्धिलाई नियन्त्रणमा राख्दै खराब कर्जा अनुपात घटाउँदा लघुवित्तको खुद नाफामा आकर्षक सुधार देखिएको हो।
असोज मसान्तसम्म लघुवित्तले एक अर्ब १८ करोड ५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब १९ करोड ९१ लाख रुपैयाँ सापटी लिएको छ। यसबाट लघुवित्तले ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँ आर्जन भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १ करोड ५८ लाख रुपैयाँ धेरै हो।
१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा कायम भएको छ । यस्तै जगेडा कोषमा १६ करोड २६ लाख रुपैयाँ सञ्चित छ भने प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा रहेको छ ।







