दाङ । दाङस्थित तत्कालिन वेष्टर्न बैँक (हालको देब बिकास बैंक)मा भएको झन्डै १८ करोड रुपैयाँ घोटाला प्रकरणमा ५६ जना विरुद्ध मुद्धा दायर भएको छ । तत्कालीन वेष्टर्नका सञ्चालक खड्गबहादुर बुढाथोकिसहित ५६ जनामाथि बैंकिङ कसुर मुद्धा दर्ता भएको हो । बैंकिङ कसुरको अभियोग लाग्नेमध्येमा चार्टड एकाउन्टेन्ट प्रेम भुर्तेल पनि छन् । सामान्यतया लेखापरीक्षण गरेकै आधारमा अन्य कसुर नलाग्ने र यो लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को अनुशासन समितिले हेर्ने मुद्धा हुने गर्दछ । आइक्यान अर्ध-न्यायिक निकाय पनि हो । उनी बुटवलमा रहेर काम गर्दै आएका सिए हुन् । वेष्टर्नको लेखापरीक्षण गर्दा मिलेमतोको आरोपमा उनीविरुद्ध मुद्धा दर्ता भएको हो ।
आइतवार जिल्ला सरकारी वकिल कार्यालयले बुढाथोकिसहीत ६ जना बैँक सञ्चालक, एक जना अडिटर, बैंकका तत्कालीन सीइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसिपुरस्थ्ति उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्धा दर्ता गरेको हो ।