१८ करोड हिनामिना प्रकरण : सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
१८ करोड हिनामिना प्रकरण : सञ्चालकसहित ५६ जनाविरुद्ध मुद्दा

दाङ : देव विकास बैंकमा भएको १८ करोड हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न डेभलप्मेन्ट बैँकका सञ्चालकसहित ५६ जनाविरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दर्ता भएको छ।  दाङको घोराही उपमहानगरपालिका-१० नारायणपुरमा रहेको बैँकको शाखाबाट १८ करोड रुपैयाँ हिनामिना भएको गत भदौमा सार्वजनिक भएको थियो।  
 
आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ६ जना बैँक सञ्चालक, अडिटर, सिइओसहित ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना खातावालसहित ५६ जनाविरुद्ध तुलसीपुर उच्च अदालत तुलसीपुरको वाणिज्य इजलासमा मुद्दा दर्ता गरेको हो। 

जिल्ला प्रहरी कार्यालय दाङले १८ करोड हिनामिना प्रकरणमा अनुसन्धान गरेर शुक्रबार मात्रै सरकारी वकिल कार्यालयमा फाइल बुझाएको थियो। मुद्दा दर्ता गर्ने क्रममा बैँक सञ्चालकहरू, अडिटर र सिइओ फरार रहेको उल्लेख गरिएको छ। जिल्ला सरकारी वकिल कार्यालय दाङका प्रमुख सुशील देवकोटाले तत्कालीन वेष्टर्न बैँक नारायणपुर हाल देव विकास बैँकका म्यानेजर समीर बुढाथोकीलाई मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिइओसहितका कर्मचारीहरू र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रूपमा मद्दा दर्ता गरिएको बताए। 

सरकारी वकिल कार्यालयले बैँकको रकम हिनामिना प्रकरणमा तत्कालीन वेष्टर्न बैँकका सञ्चालक समिति अध्यक्ष ओमभक्त बुढाथोकी, सञ्चालकहरू अर्जुन बुढाथोकी, खड्ग बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, निर्मल देवकोटाविरुद्ध बैंकिङ कसुरमा मद्दा चलाएको उनले जानकारी दिए। त्यस्तै, तत्कालीन वेष्टर्न बैँकका सिइओ खिमबहादुर डीसी, बैँकका कर्जा विभाग प्रमुख अनीलकुमार न्यौपाने, लेखापरीक्षक बुटवलका प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्तबहादुर बस्नेतसहित ४३ जनामाथि मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्दामा १८ करोड ३ लाख ७२ हजारको बिगो देखाइएको छ। दोब्बर बिगो ३६ करोड बढि रकमसहित जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरिएको छ।

देवकोटाले तत्कालीन शाखा म्यानेजर बुढाथोकीले कृत्रित ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी बैँकको सो रकम हिनामिना गरेको अनुसन्धानका क्रममा देखिएको बताए।

Read More
  • MBL - below news
  • EBL Ad news