नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो एक महिनाको आर्थिक तथा वित्तीय स्थितीको समीक्षा गरेको छ । राष्ट्र बैंकको समीक्षा प्रतिवेदन अनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । आयात ११.५ प्रतिशतले घटेको छ भने निर्यात २७.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा दुई प्रतिशत र अमेरिकी डलरमा ०.७ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति छ अर्ब पाँच करोड रुपैयाँले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । उक्त संचिति ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ । बैंकिङ्ग कारोबारमा आधारित संघीय सरकारको खर्च दुई अर्ब ६२ करोड रुपैयाँ र राजस्व संकलन ७७ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय ०.४ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १६.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ०.४ प्रतिशतले घटेको र निजी क्षेत्रतर्फको कर्जा ०.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर १९.२ प्रतिशत रहेको छ । हेरौँ, राष्ट्र बैंकको समीक्षा प्रतिवेदन जस्ताको तस्तैः
मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
१. २०७६ साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ ।
२. समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मसला र मासु तथा माछा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । त्यसैगरी, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत मुख्यतः घरायसी उपयोगिताका वस्तु तथा सेवा, लुगा तथा जुत्ता र शिक्षा उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ ।
३. काठमाडौं उपत्यकामा ८.६३ प्रतिशत, तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ साउनमा यी क्षेत्रहरुमा क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
४. समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४.१९ प्रतिशत र भारतको ३.६९ प्रतिशत रहेको थियो
थोक मुद्रास्फीति
५. २०७६ साउनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ७.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त मुद्रास्फीति ६.४० प्रतिशत रहेको थियो । समीक्षा महिनामा प्राथमिक वस्तु, इन्धन तथा उर्जा र उत्पादित वस्तु समूहको थोक मुद्रास्फीति क्रमशः १३.१० प्रतिशत, ६.५९ प्रतिशत र ३.४५ प्रतिशत रहेको छ । समीक्षा महिनामा प्राथमिक खाद्य वस्तु, इन्धन, लत्ताकपडा, यातायात उपकरण तथा पार्ट्स उपसमूहको थोक मूल्य वृद्धि उच्च रहेको छ ।
६. वृहत आर्थिक वर्गीकरणको आधारमा हेर्दा, समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ११.८३ प्रतिशत, ५.११ प्रतिशत र २.२० प्रतिशत रहेको छ ।
तलव तथा ज्यालादर सूचकाङ्क
७. २०७६ साउनमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १३.४४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकाङ्क ७.४ प्रतिशतले बढेको थियो । समीक्षा महिनामा तलब सूचकाङ्क १२.४१ प्रतिशत र ज्यालादर सूचकाङ्क १३.७२ प्रतिशतले बढेको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
८. आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनामा कुल वस्तु निर्यात २७.७ प्रतिशतले वृद्धि भई रु.८ अर्ब ८४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ ५१.८ प्रतिशत र चीनतर्फ १३२.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने अन्य मुलुकतर्फको निर्यातमा ९.२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, दन्त मन्जन, जुटका सामान, पोलिष्टर यार्न, लगायतका वस्तुको निर्यात बढेको छ भने जस्ता पाता, जुस, तयारी पोशाक, पश्मिना, ऊनी गलैंचा लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
९. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा कुल वस्तु आयात ११.५ प्रतिशतले घटेर रु.१०६ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ५४.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ४.५ प्रतिशत र ४१.२ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात २४.० प्रतिशतले बढेको छ । वस्तुगत आधारमा हटरोल सिट, कच्चा पाम तेल, तयारी पोशाक, सोलार प्यानल, अन्य मेसिनरी तथा पाटपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाज तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुहरुको आयात घटेको छ ।
१०. भन्सार नाकाका आधारमा निर्याततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, नेपालगन्ज भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सुख्खा बन्दरगाह भन्सार कार्यालय, मेची भन्सार कार्यालय, रसुवा भन्सार कार्यालय बाहेकका मुख्य भन्सार नाकाहरुबाट भएको आयातमा ह्रास आएको छ ।
११. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा १३.९ प्रतिशतले संकुचन भई रु.९७ अर्ब ८९ करोड कायम भएको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ५.७ प्रतिशत रहेको थियो ।
निर्यात आयात मूल्य सूचकाङ्क
१२. २०७६ साउन महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क १ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क २ प्रतिशतले घटेको छ । २०७५ साउन महिनामा वार्षिक बिन्दुगत आधारमा २.६ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ साउन महिनामा ३.१ प्रतिशतले बढेको छ ।
सेवा
१३. समीक्षा अवधिमा खुद सेवा आय रु.३ अर्ब १२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब २३ करोडले घाटामा रहेको थियो ।
१४. सेवा खाता अन्तर्गत भ्रमण आय समीक्षा अवधिमा ७.६ प्रतिशतले वृद्धि भई रु.४ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.४ अर्ब ३८ करोड रहेको थियो ।
१५. सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण व्यय ८.३ प्रतिशतले कमी आई रु.७ अर्ब २ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च रु.३ अर्ब ४९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७ अर्ब ६५ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह
१६. समीक्षा अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले वृद्धि भई रु.७५ अर्ब ४० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २४.० प्रतिशतले बढेको थियो ।
१७. समीक्षा अवधिमा खुद ट्रान्सफर प्राप्ति ०.२ प्रतिशतले वृद्धि भई रु.८४ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्राप्ति ३५.३ प्रतिशतले बढेको थियो ।
१८. अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३०.८ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा १.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.१ प्रतिशतले बढेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
१९. समीक्षा अवधिमा चालु खाता घाटा रु.९ अर्ब ३७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२५ अर्ब १६ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ८ करोड ४० लाखले घाटामा रहेको छ ।
२०. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४ अर्ब ७७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ ।
२१. समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ७० करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.२९ करोड ५७ लाख रहेको थियो ।
विदेशी विनिमय सञ्चिति
२२. कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको रु.१०३८ अर्ब ९२ करोड बाट वृद्धि भई २०७६ साउन मसान्तमा रु.१०६४ अर्ब ६४ करोड पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ साउन मसान्तमा ९ अर्ब ३८ करोड रहेको छ ।
२३. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रु.९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ साउन मसान्तमा रु.९२१ अर्ब ५३ करोड रहेको छ । बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रु.१३६ अर्ब ४७ करोड रहेकोमा २०७६ साउन मसान्तमा रु.१४३ अर्ब ११ करोड रहेको छ । २०७६ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचकहरू
२४. आर्थिक वर्ष २०७६/७७ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३०.७ प्रतिशत, ७३.५ प्रतिशत र २९.८ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरू क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
२५. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७५ साउन मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६९.२१ रहेकोमा २०७६ साउन मसान्तमा १४.८ प्रतिशतले कमी आई प्रति ब्यारल अमेरिकी डलर ५९.० हुन आएको छ । त्यसैगरी, सुनको मूल्य २०७५ साउन मसान्तमा प्रति आउन्स अमेरिकी डलर ११८०.४० रहेकोमा २०७६ साउन मसान्तमा २८.४ प्रतिशतले वृद्धि भई प्रति आउन्स अमेरिकी डलर १५१५.२५ कायम भएको छ ।
विनिमय दर
२६. २०७६ असार मसान्तको तुलनामा २०७६ साउन मसान्तमा नेपाली रुपैयाँ अमेरिकी डलरसँग ३.७ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ २.० प्रतिशतले अवमूल्यन भएको थियो । २०७६ साउन मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११३.५५ पुगेको छ । २०७६ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३६ रहेको थियो ।
सरकारी वित्त स्थिति
वित्त घाटा/बचत
२७. आर्थिक वर्ष २०७६।७७ को पहिलो महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.७६ अर्ब ९७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.५७ अर्ब ५४ करोडले बचतमा रहेको थियो ।
सरकारी खर्च तथा राजस्व
२८. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेक बाहेक) संघीय सरकारको कुल खर्च रु.२ अर्ब ६२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१० अर्ब ६४ करोड रहेको थियो ।
२९. समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकम समेत) रु.७७ अर्ब ५३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व संकलन रु.६५ अर्ब ५८ करोड रहेको थियो ।
सरकारको नगद मौज्दात
३०. २०७६ साउन मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खाताहरुमा रु.१३७ अर्ब ५४ करोड (स्थानीय तहको खातामा रहेको रु.३८ अर्ब ५६ करोड समेत) नगद मौज्दात रहेको छ ।
मौद्रिक स्थिति
...