बैंक तथा वित्तीय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढी रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी योजनामा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ, नुवाकोटका लवाङ तामाङ, रसुवाकी निर्मला तामाङ, निमा तामाङ, काठमाडौं काभ्रेस्थलका संजय घले, सर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्या सागर लामिछाने रहेका छन् । त्यसैगरी तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई हाल काठमाडौं टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
कृषि विकास बैंकबाट हालसम्म एकीन खुल्न आएको रकम ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको रकमको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुले पानस रेमिट नयाँबानेश्वरबाट पनि १२ लाख रुपैयाँ ह्याक गरेको खुलासा भएको पनि उनले बताए ।
महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भनिने पिटरले नेपालीहरुलाई सम्पर्क गरी बैंक तथा वित्तीय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । रकम निकालेर भारत पठाउनेलाई जम्मा रकमको १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरी सो काममा लगाइएको अनुसन्धानमा खुल्न आएको महाशाखाका प्रमुख थापाले बताए ।








