काठमाडौं । शेयर बजारका ठूला लगानीकर्ता लाभांश बुक गर्नतिर लागेका बेला भने साना लगानीकर्ता भने शेयर बजार अझै घट्ने आकंलन गर्दै फ्याक्दै गरेका छन् । ठूला लगानीकर्ता बढी लाभांश वितरण गर्ने बैंक तथा वित्तीय संस्थाको शेयर खरिद गरिरहेका छन् । केही दिनदेखि यता सिद्धार्थ बैंकको शेयर खरिद गर्नेको चाप नै परेको छ । सिद्धार्थ बैंकले २५ प्रतिशत लाभांश दिने घोषणा गरेपछि ठूला लगानीकर्ता त्यही बैंकको शेयर किन्न झुम्मिएका हुन् । तर, साना लगानीकर्ता भने बिक्री गर्न थालेका छन् ।
केही दिनयता सिद्धार्थ बैंकको शेयर कारोबार उच्च देखिनुको कारण पनि यही हो। सोमबार कुल १७ करोड ७२ लाखको शेयर कारोबार भएकोमा ८५ लाखको कारोबार त सिद्धार्थ बैंकको मात्रैै भएको छ । गत साता पनि सिद्धार्थ बैंकको नै शेयर कारोबार बढी भएको थियो । प्रतिकित्ता ३ सय २८ रुपैयाँमा खरिद बिक्री हुँदै आएको यस बैंकको शेयर खरिद गर्दा २५ प्रतिशत लाभांश पाउने भएकाले पनि ठूला लगानीकर्ता उक्त बैंकको शेयर खरिद गर्न झुम्मिएका हुन् । लाभांश घोषणा गरेका मात्र होइन उच्च लाभांश घोषणा गर्न सक्ने कम्पनीको पनि शेयर कारोबार उच्च हुँदै आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर गत सातादेखि नै उच्च कारोबार भइरहेको छ । शेयर उच्च कारोबार हुनु पछाडिको रहस्य बुझनु जरुरी छ । उच्च कारोबार हुनुको अर्थ त्यो कम्पनीभित्र केही खिचडी पाक्दै छ भन्ने बुझ्नु पर्छ । ठूला लगानीकर्ताले त्यो चाल पाइसकेका छन् । तर, साना लगानीकर्ता भने रनभुल्लमा परेर शेयर बिक्री गरिरहेका छन् ।
पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (नेप्से) मा सूचीकृत कम्पनीले धमाधम लाभांशको घोषणा गरिरहेका छन् । कम्पनीले बितरण गर्ने लाभांश बुक गर्नतिर ठूला लगानीकर्ता लागेका छन भने साना लगानीकर्ता शेयर बिक्री गर्न थालेका छन् । केही ठूला लगानीकर्ताले नकारात्मक हल्ला फैलाइरहेका छन् । यस्तो बेलामा साना लगानीकर्ता अतालिएर शेयर बिक्री गरिरहेका छन् । ठूला लगानीकर्ता भने समुन्द्रजस्तै शान्त भएर शेयरको भाउ गिराउँदै शेयर खरिद गरिरहेका छन् । साना लगानीकर्ता शेयर बजार ओरालो लागेपछि डराएर बिक्री गरिरहेका छन् । ठूला लगानीकर्ता भने उच्च लाभांश दिने कम्पनीको शेयर बजारमा खोजी–खोजी किनिरहेका छन् ।







