काठमाडौं : सेयर बजार सुधारको अपेक्षा गरिरहेका लगानीकर्ता फेरि अन्योलमा परेका छन् । अर्थमन्त्रीको भाषणपछि २ दिन दोहोरो अंकले बढेको बजार फेरि घट्न थालेको छ । बजार परिसूचक नेप्से निरन्तर घट्दा सेयर भाउ निकै सस्तो भइसकेको छ । यद्दपि, लगानीकर्तामा आत्मबल खासै बढेको देखिंदैन । अर्थमन्त्रीले भाषण गरेपछि २ दिन बजारमा तेजी छाएपनि अल्पकालीन कारोबारीले बिहीबार बेचेका थिए । सेयर बजारमा आमूल सुधार आउन ठूला र संस्थागत लगानीकर्ताले किन्ने क्रम तीब्र बनाउनैपर्ने हुन्छ ।
पछिल्लो समय हाम्रो बजारमा अल्पकालीन कारोबारी हावी भएकाले पनि स्थायी सुधारमा समस्या देखिएको छ । थोरै नाफा हुने बित्तिकै आत्तिएर बेचिहाल्ने प्रवृत्तिले बजार अपेक्षा अनुसार माथि जान सकेको छैन । अझ, झन्डै ४ महिनासम्म निरन्तर बजार तल झर्दा लगानीकर्ताको त्रसित मानिसकतामा सुधार नभएको अनुमान लगाउन सकिन्छ । फेरि बजार तल झर्यो भने थोरै बढेको भाउ समेत बुक गर्न नसकिएला कि भन्ने मनोवृत्ति हावी भएकाले पनि आइतबार नेप्से सूचकमा थप दबाब पैदा भएको अनुमान छ ।







