काठमाडौं : भारतीय अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार बिहान कर्पोरेट कर घटाउने घोषणा गरेकी छिन् । यस निर्णयसँगै भारतीय सेयर बजारमा उछाल आएको छ । वित्त मन्त्री (अर्थमन्त्री) ले कर्पोरेट करका दरहरूमा भारी मात्रामा कटौती गरेकी छन् । कर्पोरेट क्षेत्रलाई राहत दिन तथा सम्भावित आर्थिक मन्दीबाट मुलुकलाई जोगाउन उनले रणनीतिक हिसाबले करका दरहरु घटाइएको अनुमान गरिएको छ ।
करका दर घटेपछि निजी क्षेत्र उत्साहित हुने तथा पुँजी पलायन हुनबाट समेत जोगिने विश्लेषकहरुले प्रक्षेपण गरिरहेका छन् । यसको सबैभन्दा सकारात्मक प्रभाव सेयर बजारमा परिसकेको छ । कर्पोरेट कर घटाउने घोषणापछि भारतीय सेयर बजार चम्किन थालिसकेको छ । शुक्रबार बीएसई सेन्सेक्स १९११.५८ ले बढेर ३८ हजार ५०५ बिन्दुमा पुगिसकेको छ । यस्तै, अर्को स्टक मार्केट इन्डेक्स निफ्टी पनि ५६५.१५ अंकले बढेर ११ हजार २७९.९५ बिन्दुमा पुगिसकेको छ ।







