अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको नयाँ लगानीकर्ताका लागि अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त वातावरण भएको बताएका छन् । ‘अहिले दोस्रो बजारमा लगानी गर्ने उपयुक्त मौका हो,’ उनले भने । बैंकको नाफा वृद्धि भइरहेको छ । वित्तीय प्रणालीको नाफा बढिरहेको छ । आर्थिक वृद्धि भइरहेको छ । राजनीतिक स्थिरता र सुशासनमा सुधार भइरहेको र करको समस्या समाधान गर्ने काम भइरहेका कारण पनि सेयर बजार वृद्धि हुनुपर्ने उनको भनाइ छ । खतिवडाले नयाँ लगानीकर्तालाई दोस्रो बजारमा प्रवेश गर्न आह्वानसमेत गरे ।
‘ठूला पूर्वाधारलाई लगानी जुटाउन पुँजी बजारको विकास अनिवार्य’
अर्थमन्त्री खतिवडाले ठूला पूर्वाधार आयोजना निर्माणका लागि लगानी जुटाउन पुँजी बजारको विकास अनिवार्य रहेको बताए । कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले पुँजी बजार विस्तारविना ठूलो लगानी जुटाउन नसकिने बताएका हुन् । ‘पुँजी बजारलाई गति दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ,’ उनले भने ।
पछिल्लो समय सेयरसँगै बन्डको समेत बजार विकसित भइरहेछ । खतिवडाले पुँजी वृद्धिका लागि लगानी बढाउने वातावरण तयार गर्न वित्तीय क्षेत्रलाई आग्रह गरे । कर्मचारी सञ्चयकोष दीर्घकालीन बचत परिचालन गर्ने सबैभन्दा ठूलो संस्था हो । अहिलेसम्म संस्थाले साढे ३ खर्ब रुपैयाँ व्यवस्थापन गरिरहेको छ । त्यसपछि नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष, दूरसञ्चार कोषलगायत आउँछन् । नयाँ कोष स्थापना गर्ने काम पनि भइरहेको छ ।
खतिवडाका अनुसार सबै कोषको रकम एकमुष्ट गर्ने हो भने कुल गार्हस्थ उत्पादनको २० प्रतिशत (झन्डै ७ खर्ब) रुपैयाँ हुन्छ । कोषहरूको रकम पुँजी बजारको विकासमा खर्च हुनुपर्ने उनको भनाइ छ ।







