काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारका नयाँ लगानीकर्ताहरुका निम्ति अहिले उपयुक्त समय भएको बताएका छन् । कर्मचारी सञ्चय कोषको ५८औं वार्षिकोत्सवमा बोल्दै मन्त्री खतिवडाले बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको बताएका हुन् ।
उनले सरकारले पुँजी बजारको सुधारका निम्ति विभिन्न ऐन कानुन आएको र भएकालाई पनि संशोधन गरी बजारमैत्री वातावरण निर्माण गर्न लागिपरेको बताएका छन् । अर्थमन्त्री खतिवडाले पुँजी बजारको स्थायित्वका लागि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष जस्ता कोषलाई पुँजी बजारको प्राथमिक र दोस्रो बजारमा प्रवेश गराउने तयारी गरेको बताएका छन् ।
उनले कर्मचारी सञ्चय कोषलाई प्राथमिक बजार र ऋणपत्र खरिदका लागि प्रयोग गर्ने तयारी रहेको खुलासा गरे । त्यसैगरी नागरिक लगानी कोषलाई दोस्रो बजारमा प्रवेश गराउन तयारी भइरहेको समेत उनले जानकारी दिएका छन् । अहिले धितो पत्र बजारमा सुचिकृत भएका अधिकांश कम्पनीहरुको नाफा बृदीभएको छ । नव प्रवेशी र दोस्रो बजारमा लगानी गरेर त्यसबाट नाफा कमाउँछु भन्नेको लागि यो समय उपयुक्त हो ।







