धितोपत्र बोर्डले यसअघि दिएको विभिन्न ८ निर्देशनको जवाफ माग गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाएको छ । बोर्डले आव २०७४–०७५ मा दिएको निर्देशन तथा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृतिको समग्र मूल्यांकन गरी वित्तीय स्थायित्व एवं लगानीका लागि स्रोत तथा व्यवस्थान सम्बन्धी सुझाव समितिले दिएको सुझावमध्ये, कार्यान्वयन नभएका निम्न विषय तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन समेत दिएको छः
१. तोकिएको मापदण्ड पुरा गर्ने वाणिज्य बैंकलाई सहायक कम्पनी मार्फत सेयर खरिद बिक्री गर्न पाउने गरी ब्रोकर लाईसेन्स दिने तथा संघीय संरचना अनुसार प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्लाहरुमा (काठमाडौं बाहेक) स्थानीय स्तरमा ब्रोकर लाईसेन्स दिने सम्बन्धमा ।
२. बजारका लगानीकर्ताहरुको हित संरक्षण कोष स्थापना गर्ने र बजारका लगानीकर्ताहरुको हित संरक्षणको लागि विद्यमान कानूनी व्यवस्थामा सुधार गर्ने सम्बन्धमा ।
३. कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष तथा धितोपत्र व्यवसायीहरुलाई सेक्युरिटिज डिलरलाई प्रवेश गराउने सम्बन्धमा अध्ययन गरी बोर्डमा सिफारिस गर्ने सम्बन्धमा ।
४. ओसिटि बजारलाई गतिशिल बनाउन प्रविधिमैत्री बनाई संचालन गर्ने सम्बन्धमा ।
५. स्वचालित कारोबार प्रणालीलाई बैंक र सिडिएससीको प्रणालीमा पूर्ण रुपमा आवश्यक गरी सञ्चालन गर्ने तथा यसमा देखिएका समस्याहरुको सम्बन्धमा बोर्डले गरेको अध्ययन प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने सम्बन्धमा ।
६. सिस्टम अडिटमा समावेश गर्न उपयुक्त हुने मापदण्डहरुका सम्बन्धमा ।
७. भौतिक रुपमा न्यूनतम कित्ता लिएका लगानीकर्ताहरुको सेयर कारोबार गरी अभौतिकीकरण गर्ने सम्बन्धमा ।
८. धितोपत्र दलाल व्यवसायीहरुको लागि सुपरीवेक्षण सम्बन्धी कार्यविधिलाई अन्तिम रुपमा दिई कार्यान्वयन गर्ने सम्बन्धमा ।







