नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारको लागि सुविधा दिन योग्य धितोपत्रको सूची तयार गरेर भदौ २६ गते बिहीबार सार्वजनिक गरेको छ। नेप्सेले मार्जिन कारोबारको लागि १२ वाणिज्य बैंकसहित कूल ३३ वटा कम्पनीहरुको शेयरलाई मात्र योग्य ठहराएको हो।
मार्जिन कारोबार सुविधा पाइने कम्पनीहरुमा १२ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, ९ वटा लघुवित्त संस्था, ३ वटा हाइड्रोपावर, होटल्स र अन्य समुहको एक/एक वटा कम्पनीहरु रहेका छन् । जबकी नेप्सेमा सूचीकृत कम्पनीहरुको संख्या भने १८ दर्जन रहेको छ ।
मार्जिन कारोबार सुविधा प्रदान गर्न योग्य हुन तोकिएको मापदण्ड पूरा गर्न नसक्दा १५ वाणिज्य बैंकहरुको शेयरमा पनि लगानीकर्ताले मार्जिन सुविधा नपाउने भएका छन्। अन्य पनि थोरै कम्पनीहरु मात्र मार्जिन कारोबार सुविधा पाइने सूचीमा छन्। आवश्यक प्रकृया पूरा गरेका ती कम्पनीहरूलाई नेप्सेले मार्जिन कारोबारका लागि अनुमति प्रदान गरेको हो।
मार्जिन सुविधा सम्बन्धि कार्यविधि अनुसार कम्तिमा १० हजार शेयरधनी भएको, कम्पनीको खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको, दाेस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा शेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीहरु मार्जिन कारोबार सुविधाको लागि योग्य हुनेछ । नेप्सेले त्यस अनुसार ३३ कम्पनीको सूची तयार गरेको हो ।
....







