भदौ २६, काठमाडौं । गत साता बिहीवारदेखि लगातार घटेको नेप्से परिसूचक यस साताको अन्तिम कारोबार दिन बिहीवार पनि घटेको छ । यस दिन ५ दशमलव ३३ अंक घटेर नेप्से १ हजार १५७ दशमलव ३३ विन्दुमा आइपुगेको छ । यस दिन १ हजार १६३ दशमलव ७१ विन्दुबाट शुरु भएको परिसूचक कारोबारको साढे १ घण्टाको अवधिसम्ममा घटेर १ हजार १५८ दशमलव १५ विन्दुमा आएको थियो । उक्त विन्दुबाट दोस्रो घण्टासम्म उकालो लागेको परिसूचक १ हजार १६२ दशमलव शून्य ६ विन्दुसम्म पुगेर पुनः ओरालो लागी अन्त्यमा अघिल्लो कारोबार दिन बुधवारको तुलनामा शून्य दशमलव ४६ प्रतिशत घटेर बजार बन्द भएको छ ।
यस दिन कारोबारमा आएका ११ समूहमध्ये सबै समूहको परिसूचक घटेर बन्द हुँदा समग्र नेप्से परिसूचक घट्न पुगेको हो । सर्वाधिक घटेर बन्द भएको होटल समूहको परिसूचक १ दशमलव २९ प्रतिशत घटेको छ भने बैंकिङ, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फन्ड समूहको परिसूचक १ प्रतिशतभन्दा कम घटेका छन् ।
बिहीवारको कारोबार
बिहीवार रू. ३७ करोड ६१ लाख बराबरको शेयर कारोबार भएको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा १० दशमलव शून्य ८ प्रतिशत बढेको हो । गत कारोबार दिन बुधवार रू. ३४ करोड १७ लाख रकम बराबरको कारोबार भएको थियो । सेन्सेटिभ इन्डेक्स भने यस दिन शून्य दशमलव ९८ अंक घटेर २५३ दशमलव ७९ विन्दुमा बन्द भएको छ ।
...







