नेप्से सूचक ‘यति पुग्छ,’ ‘उति पुग्छ,’ ‘घटेर यतिमा आउँछ’ र ‘यति वर्षमा बढेर यति पुग्छ’ जस्ता चर्चाले कारोबारी र लगानीकर्ता दुवैलाई पिरोलेको छ । जोड, घटाउ, गुणन, भाग, प्रतिशत र औसत जस्ता व्यावहारिक गणितसमेत नबुझ्नेलाई ‘टेवा, अवरोध, प्रतिरोध’ जस्ता शब्दले अभिमन्यूलाई भैंm चक्रव्यूहमा पारेको छ । सूचकको हाउगुजीले शेयरबजार प्रताडित बनेको छ । सूचक के हो, के होइन, कसरी बढ्छ, कसरी घट्छ, सूचक निर्धारण गर्न कस्ता कम्पनी जिम्मेवार हुन्छन् यस बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ ।
सूचक कुनै आधार वर्ष वा दिनको बजार पूँजीकरण र दैनिक पूँजीकरणको अनुपात हो । यसको मापन गर्दा आधार पूँजीकरण र त्यसपछिका हरेक दिनको पूँजीकरण दुईओटा अंक लिएर व्यक्त गरिन्छ । आधार पूँजीकरण नयाँ कम्पनी सूचीकरण र हकप्रद समायोजन भएपछि परिवर्तन हुँदै जान्छ । बोनस शेयरले आधार पूँजीकरण परिवर्तन हुँदैन । सम्भवतः एक्सचेन्जको कारोबार मापन एक्सचेन्जले भन्दा पहिले स्वस्फूर्त रूपमा कारोबारी र शेयरबजार विषयमा कलम चलाउनेले आफूखुशी शुरू गरेका हुन् । पछि एक्सचेन्जले पनि कारोबार मापन गर्न आवश्यक सम्झियो र मापन गर्न थाल्यो । कारोबार मापनको यस्ता सूचक जसले जति पनि आफ्नो इच्छाअनुसार बनाउन सक्छ । यसैको पछिल्लो अभ्यासका रूपमा एनएमबी क्यापिटलले योजना व्यवस्थापन गर्न लागेको एनएमबी– ५० नामक म्युचुअल फन्डले छिट्टै आफ्ना लागि सूचक बनाउने तर्खरमा लागेको छ । यसमा ५० ओटा सूचीकृत कम्पनी रहनेछन् । सूचकले कम्पनीको उन्नति र प्रगति वा लाभांश आदि केहीलाई पनि जनाउँदैन । आधारभूत सूचक मापन गर्न प्रायशः सीमित कम्पनीलाई मात्र लिइन्छ । यिनै छानिएका कम्पनीको कारोबारको आधारमा हुने आधार र दैनिक पूँजीकरणको अंकलाई लिएर सूचक निकालिन्छ । सूचक गणना गर्दा पहिलो दिनलाई १ सय वा १ हजार विन्दुलाई आधार लिएर शुरू गरिएको भेटिन्छ । नेपालमा सूचक गणना गर्दा १ सय विन्दुलाई आधार लिइएको छ ।
...







