काठमाडाैं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफ्नो डेबिट वा क्रेडिट कार्डलाई तीन महिनाभित्र चिपमा आधारित बनाउन निर्देशन दिएको छ।
ह्याकरहरुले म्याग्नेटिक स्ट्राइप कार्ड प्रयोग गरी काठमाडौं र भारतका एटिएम बुथबाट नेपाली बैंकहरुको रकम चोरेपछि राष्ट्र बैंकले दुई वर्षअघि दिएको निर्देशन पूर्ण रुपमा पालना गर्न सम्झाएका हो।
चिनियाँ ह्याकरहरुले एटिएम बुथबाट साढे तीन करोड रुपैयाँभन्दा बढी रकम चोरेपछि अनुसन्धान गर्न गठित टोलीले पनि चिप कार्ड अनिवार्य गर्न सुझाएको छ।
चिपको तुलनामा म्याग्नेटिक स्ट्राइप कार्डबाट ह्याकिङ गर्न सजिलो हुने भन्दै अनुसन्धान टोलीले सबै बैंक, वित्तीय संस्था चाँडोभन्दा चाँडो चिप कार्डमा जानुपर्ने सुझाव दिएको छ।
केन्द्रीय बैंकले दुई वर्षअघि नै सबै बैंक, वित्तीय संस्थालाई चिपमा आधारित एटिएम कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएको थियो। तर, कतिपय बैंकले अझैसम्म परिवर्तन नगरेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए।
‘एटिएम प्रणालीमा के कमजोरी थियो भन्ने थाहा भई नसके पनि ह्याकर समूहले म्याग्नेटिक स्ट्राइप कार्ड प्रयोग गरी चोरी गर्न सफल भएकाले आगामी तीन महिनाभित्र सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई चिप कार्ड प्रयोगमा ल्याइसक्न निर्देशन दिएका हाैं,’ उनले भने।
पछिल्लो चोरीमा चिप कार्ड प्रयोग नभएकाले आगामी दिनमा यस्ता घटना रोक्ने उद्देश्यले अबदेखि चिप कार्डमात्र प्रचलनमा ल्याउन बैंक, वित्तीय संस्थालाई भनेको निरौलाको भनाइ छ। अब पनि निर्देशन नटेर्ने बैंक, वित्तीय संस्थालाई कडा कारबाही गर्ने उनले बताए।
राष्ट्र बैंक र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सहकार्यमा अनुसन्धान गर्न गठित टोलीले कमजोर सुरक्षा प्रणालीका कारण चोरी भएको निष्कर्ष निकालेको छ।
...








