काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयरमा लगानीकर्ताको रुचि कम देखिएको छ । राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको सेयर बिक्री गर्न सूचना जारी गरे पनि तीनजना मात्र लगानीकर्ताले खरिदका लागि आवेदन दिएका छन् । अपेक्षाभन्दा निकै कम आवेदन परेपछि राष्ट्र बैंकले आह्वान गरेजति सेयर बेच्न सकेको छैन । यसकारण अझै पनि करिब १४ प्रतिशत नेप्सेको सेयर राष्ट्र बैंकको नाममा रहने भएको छ ।
हाल नेप्सेमा राष्ट्र बैंकको करिब ३४ प्रतिशत सेयर लगानी छ । सेयर बिक्रीका लागि राष्ट्र बैंकले गत असार ३१ मा सूचना जारी गरेको थियो । सोही सूचनाअनुसार कर्मचारी सञ्चय कोष, प्रभु बैंक र लक्ष्मी बैंकले मात्र आवेदन दिएका थिए । जसमध्ये कर्मचारी सञ्चयकोषले प्रतिकित्ता १ हजार ३२ का दरले ५ लाख कित्ता (कुल सेयरको १० प्रतिशत), प्रभु बैंकले प्रतिकित्ता १ हजार ३ सयका दरले साढे २ लाख कित्ता (कुल सेयरको ५ प्रतिशत) र लक्ष्मी बैंकले प्रतिकित्ता १ हजार १ सय १ रुपैयाँका दरले साढे २ लाख कित्ता (कुल सेयरको ५ प्रतिशत) सेयर बिक्री भएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
‘तीनवटा कम्पनीको मात्र निवेदन प्राप्त भएको थियो,’ उनले भने, ‘ती कम्पनीले मागेजति पाएका छन् ।’ बाँकी १४ प्रतिशत सेयरका लागि लगानीकर्ता नै नआएको उनले बताए । उनले भने, ‘अब फेरि सूचना निकालेर सेयर बिक्रीका लागि आह्वान गर्छौं ।’ परेका आवेदकहरू सञ्चय कोष, प्रभु बैंक र लक्ष्मी बैंकलाई सेयर बिक्री गरिसकिएको र ती कम्पनीको नाममा सेयर हस्तान्तरण गर्न राष्ट्र बैंकले नेप्सेलाई पत्राचार गरेको छ ।







