नेपाल राष्ट्र बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (NCHL) ले सीमित अवधिका लागी कनेक्ट आईपीएस प्रणालीमा आफ्नो बैंक खाता लिङ्क गरी भेरिफाई गराइसकेका ग्राहकहरुले मोबाईल नम्बरको आधारमा गरिने फण्ड ट्रान्स्फर निःशुल्क गरेको छ ।
यसबाट कनेक्ट आईपीएसका ग्राहकहरुलाई सिधैं आफ्नो बैंक खाताबाट रियल–टाइम फण्ड ट्रान्सफर गर्न थप सुविधा पुग्ने एनसीएचएलको जनाएको छ । एनसीएचएलले बैंक तथा वित्तिय संस्थाहरुमार्फत ग्राहकहरुका लागि बैंक खातामा आधारित रियल–टाइम भुक्तानी गर्न कनेक्ट आईपीएस, इपेमेन्ट प्रणाली संञ्चालन गरिरहेको छ ।
यस प्रणालीमा अनलाइन फण्ड ट्रान्सफर, क्रेडिट कार्ड, बिलभुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, सरकारको राजस्व भुक्तानी, पेमेन्ट प्रोसेसर (गेटवे), लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोष सम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ्ग तथा सेयर ब्रोकरलाई भुक्तानी लगायतका सेवाहरु उपलब्ध रहेका छन् ।








