काठमाडौं : पुँजी बजार साताको अन्तिम दिन बिहीबार केही सुस्त देखिएको छ । मंगलबार र बुधबार चमक आएको बजार बिहीबार सामान्य सुस्त बनेको हो । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजार थोरै प्रभावित भएको अनुमान गरिएको छ । यद्दपि, बजार निरन्तर घट्ने वा बढ्ने मात्र गर्दैन । तलमाथि गर्दै बजारले आफ्नो अग्रगामी यात्रा तय गर्न खोज्नुलाई अस्वभाविक मान्नु पनि हुँदैन ।
बजार बेस्सरी घटेपछि नियामकले पनि सुधारका कामलाई गति दिन थालेको छ । धितोपत्र बोर्डले ब्रोकर मार्फत मार्जिन लेन्डिङ कारोबार सुरु गर्न बाटो खुला गरिदिएको छ । अब ब्रोकरहरुले प्रक्रिया पूरा गरेर सेयर लगानीकर्तालाई मार्जिन ऋण दिन सक्नेछन् । ब्रोकरमार्फत मार्जिन ऋण लिन पाउने भएपछि लगानीकर्ताको क्रय क्षमता बढ्ने अपेक्षा गरिएको छ । यो सेयर बजारका लागि सकारात्मक पक्ष हो ।
यसैगरी, ल्याप्चे युग पनि समाप्तितिर अघि बढेको छ । सीडीएसले प्रणाली विकास गरी परीक्षणमा ल्याएको छ । यसको औपचारिक सुरुवात भएपछि लगानीकर्ताले ठूलो राहत पाउनेछन् । अन्य सुधारका कार्यक्रम पनि अघि बढ्ने अपेक्षा गर्न सकिन्छ । यसर्थ, समग्रमा आम लगानीकर्ता सेयर बजारप्रति सकारात्मक हुन आवश्यक छ । बजार माथि जान्छ भन्ने विश्वास लिन सक्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो ।







