१९ भदौ, काठमाडौं । एटीएम ह्याकिङ प्रकरणको जाँचबुझका लागि राष्ट्र बैंकले बनाएको समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनअनुसार चिनियाँ ह्याकरहरुले ३ करोड ५८ लाख रुपैयाँ विभिन्न बैंकबाट निकालेका छन् । यसअघि १ करोड ६८ लाख रुपैयाँ निकालेको भनिएको थियो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले मंगलबार साँझ राष्ट्र बैंकलाई प्रतिवेदन बुझाउदै ३ करोड ५८ लाख ८४ हजार २० रुपैयाँ बराबरको रकम झिकिएको बताएको हो । भारतबाट मात्र करिब एक करोड ७० लाख रुपैयाँ निकालिएको प्रतिवेदनमा उल्लेख छ । भदौ १४ गते शनिबार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म भिजा इन्टरनेशनलसँग आबद्ध नेप्सका सदस्य बैंकहरुको डेबिट कार्ड प्रयोग गरी रकम निकालिएको थियो । नेपालमा १७ बैंकका ६८ एटिएम कार्डहरुबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अध्ययन प्रतिवेदनले नेपालमा निकालिएकै हाराहारीमा भारतबाट समेत निकालिएको देखाएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । उनका अनुसार ६ वटा नेपाली वाणिज्य बैंकहरुको विभिन्न कार्डहरु प्रयोग गरी भारतका २४ बैंकका १३२ एटिएमबाट १ करोड ५ लाख ८७ हजार २ सय भारतीय रुपैयाँ निकालिएको पुष्टि भएको छ ।








