काठमाडौं : सेयर लगानीकर्ताको संख्या कति होला भन्ने धेरैमा खुल्दुली छ । देशभरका कुल सेयर लगानीकर्ताको यकिन तथ्यांक सम्बन्धित निकायसँग पनि छैन । तर सेयर बजार डिजिटल प्रणालीमा गएसँगै केही अनुमानहरु भने गर्न सकिने भएको छ । यसका लागि सबैभन्दा नजिकको आधार भनेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एकीकृत पारेको डिम्याट खाता खोल्नेहरुको तथ्यांक नै हो ।
सीडीएसका अनुसार अहिलेसम्म १५ लाख ७० हजार ९११ जनाले डिम्याट खाता खोलेका छन् । यस आधारमा सेयर लगनीकर्ताको संख्या अनुमान गर्न सकिन्छ । तर धितोपत्र बोर्डको नियम अनुसार एक जना व्यक्तिले दुई वटासम्म डिम्याट खाता खोल्न सक्छ । फेरि, यो नियम अनुसार १५ लाख ७० हजार ९११ जनाले खाता खोलेको भन्न मिल्दैन । यसमा धेरैको दुई वटा खाता भएको अनुमान गरिएको छ ।
...







