काठमाडौं : पुँजी बजारका लगानीकर्ताको आत्मबल झनै खस्किएको छ । लगातार बजार तल झर्दा पनि सरकारले सुधारका कुनै पनि कार्यक्रम अघि नसारेपछि लगानीकर्ता हतोत्साहित हुने अवस्थामा पुगेका हुन् । बजार दिनहुँ तल झरेको छ । लगानीकर्ताले अरबौं रुपैयाँ गुमाइरहेका छन् । तर सरकारले सुधारका कुनै पनि कार्यक्रम ल्याउन सकेको छैन । यसबाट आम लगानीकर्ता थप मारमा परेका हुन् ।
आइतबार नेप्से सूचक दोहोरो अंकले घटेको छ । बैंकिङ प्रणालीबाट पैसा ह्याक गरिएका खबर बाहिर आउँदा आइतबार लगानीकर्ताको आत्मबल थप कमजोर भएको अनुमान गरिएको छ । यद्दपि, केन्द्रीय बैंकले सर्वसाधारणको लगानी सुरक्षित रहेको बताएको छ । प्रणालीमै ठूलो समस्या समेत नभएको केन्द्रीय बैंकको भनाई छ ।
बजेटपछि लगातारजसो सेयर बजार तल झरिरहेको छ । बजार घट्न थालेको पनि ३ महिना भएको छ । तर यसबीचमा सरकार मूकदर्शक जस्तै बनेको छ । सरकारको कार्यक्रमप्रति सर्वसाधारणले विश्वास गर्न सकेका छैनन् । यसको सीधा प्रभाव सेयर बजारमा देखिएको हो । सुधारका लागि तत्काल लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम ल्याउन आवश्यक छ ।
यद्दपि, लगातार बजार तल झर्दा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो भइसकेको छ । सम्बद्ध कम्पनीहरुको कमाई, प्रतिसेयर आम्दानी, नेटवर्थ, मूल्य–आम्दानी अनुपात, रिजर्भ कोष, भविष्यमा व्यापार विस्तारको सम्भावना लगायतका आधारबाट हेर्दा पनि लाभ लिन सकिने पर्याप्त ठाउँ देखिन्छ ।







