१० भदौ, काठमाडौं । केही समयअघिको एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आफूलाई बैंकिङ प्रणालीमा प्रविधिको विश्वास नलाग्ने बताए । उनको त्यो अभिव्यक्तिलाई प्रविधिको प्रयोगबाट हुने सहज नगद कारोबारलाई निरुत्साहित गर्ने मनसायको रुपमा अर्थ्याइयो ।
यदाकदा केही समस्या आए पनि सहज र छिटो कारोबारका लागि प्रविधि प्रयोग आजको आवश्यकता भएको विज्ञहरु बताउँछन् । त्यसका लागि समस्या न्युनीकरणका उपायहरु अपनाउन पर्ने उनीहरुको भनाइ छ ।
नेपालमा प्रविधिको प्रयोग बढ्दै पनि गएको छ । इन्टरनेट र मोवाइल बैंकिङमा नेपालीहरु आकर्षित हुदै गएको तथ्यांकले देखाउँछ । कागजरहित कारोबारलाई प्रोत्साहन गर्ने सरकारी नीतिकै कारण इन्टरनेट र मोवाइल बैंकिङ कारोबार बढेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/०७६ को अन्त्यसम्म इन्टरनेट बैंकिङका ग्राहक संख्या ९ लाख १७ हजार ३४४ पुगेको छ । यीमध्ये ८ लाख ८८ हजार २६८ ग्राहक ‘क’ वर्गका वाणिज्य बैंकहरुका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार, ‘ख’ वर्गका विकास बैंकहरुको इन्टरनेट बैंकिङका ग्राहक संख्या २४ हजार १२४ र ‘ग’ वर्गका वित्त कम्पनीका ४ हजार ९५२ पुगेको छ ।
एक वर्षकै अवधिमा झण्डै एक लाखले इन्टरनेट बैंकिङका ग्राहक बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष ०७४/७५ मा ‘क’ वर्गका वाणिज्य बैंकहरुको आठलाख १६ हजार ७४, विकास बैंकहरुको १४ हजार ६३४ र वित्त कम्पनीहरुको ३ हजार ५९४ गरी कुल आठलाख ३४ हजार ३०२ जना इन्टरनेट बैंकिङका ग्राहक थिए ।
मोवाइल बैंकिङका ८३ लाख ४७ हजार
मोवाइल बैंकिङमा त एक वर्षमै ३३ लाख प्रयोगकर्ता बढेका छन् । आर्थिक वर्ष ०७४/७५ को अन्त्यसम्म मोवाइल बैंकिङका ग्राहक ५० लाख ८६ हजार ६९ थिए, जसमा वाणिज्य बैंकका ४७ लाख ११ हजार ९७ जना, विकास बैंकका तीन लाख ५१ हजार ७९६ र वित्त कम्पनीका २३ हजार १७६ जना थिए । एक वर्षमै यो ३३ लाखको बढोत्तरी हो ।
आव ०७५/७६ मा मोवाइल बैंकिङका प्रयोगकर्ता वाणिज्य बैंकका ७४ लाख छ हजार ८०२, विकास बैंकका नौ लाख नौ हजार ५१२ र वित्त कम्पनीका ३० हजार ८७३ पुगेका छन् । गत आवमा मोवाइल बैंकिङको प्रयोगकर्ता ८३ लाख ४७ हजार १८७ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
विज्ञ भन्छन्– प्रविधि आजको आवश्यकता
....








