काठमाडौं : सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश घोषणा गर्न थालेकै बेला सेयर बजार भने झनै तल झरेको छ । लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीले गत वर्षभन्दा बढी दिएका छन् । वाणिज्य बैंकहरुको समेत लाभांश घोषणा हुन थालेको छ । बुधबारमात्रै एनआइसी एसियाले गत वर्षभन्दा दोब्बर लाभांश प्रस्ताव गरेको छ । यसैगरी कुमारी बैंकले पनि १०% बोनस सेयर घोषणा गरेको छ । एकातिर सूचीकृत कम्पनीहरुको लाभांश अनुपात बढेको छ भने अर्कोतिर बोनस सेयर घोषणा क्रम पनि बढेको छ ।
यति हुँदा पनि लगानीकर्ताको आत्मबल सुधार हुन सकेको छैन । नेप्से सूचक तल झर्नेक्रम रोकिएको छैन । बजेटपछि सेयर बजार लगातार तल झरिरहेको छ । बजेटमा पुँजीगत लाभकर घटाएपछि लगानीकर्ता खुशी भएका थिए । तर त्यसले बजारमा सकारात्मक प्रभाव छाड्न सकेन । यही बेला सरकारले भारित औसत लागत विधिबाट पुँजीगत लाभकर गणना गर्दा लगानीकर्ता आफैं ब्रोकर कार्यालयमा गएर ल्याप्चे लगाउनुपर्ने व्यवस्था गर्यो । जसका कारण सेयर लगानीकर्ता झनै निरुत्साहित भएका हुन् ।
तर अहिले यो समस्या समाधानको क्रममा छ । लगानीकर्ताले मेरो सेयर सफ्टवेयरको प्रणालीबाटै लागत हिसाब गर्न सक्ने व्यवस्था भइरहेको छ । सीडीएसले यो प्रणालीको परीक्षण भइरहेको जानकारी गराएको छ । यो कार्यान्वयनमा आउने बित्तिकै लगानीकर्ताले ल्याप्चे लगाउन ब्रोकर कार्यायलसम्म धाउनुपर्दैन । यति हुँदा पनि लगानीकर्ता भने आश्वस्त हुन सकेका छैनन् ।







