काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको वित्तीय पहुँचको वास्तविक अवस्था पत्ता लगाउन अनुसन्धान शुरु गरेको छ । वित्तीय पहुँचको अद्यावधिक र स्पष्ट तथ्यांक पत्ता लगाउने गरी राष्ट्र बैंकले अनुसन्धान थालेको हो ।
केही वर्ष अघिको तथ्यांकले ४० प्रतिशत जनसंख्या वित्तीय पहुँचमा भएको देखाएको थियो । अहिले पनि केही व्यक्तिले त्यही तथ्यांकका आधारमा सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । कतिपयले भने ४० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको भन्ने तथ्यांक धेरै पुरानो भइसकेको बताउँदै आएका छन् । कतिपयले ६० प्रतिशत पुगेको बताउने गरेका छन् । केन्द्रीय बैंकमा अद्यावधिक तथ्यांक नभएका कारण यो समस्या आएको हो । यही खुल्दुलीलाई मेटाउन अहिले राष्ट्र बैंकले अनुसन्धान शुरु गरेको छ । राष्ट्र बैंकको प्रारम्भिक आकंडाअनुसार ६० प्रतिशत जनसंख्यामा वित्तीय पहुँच पुगेको अनुमान गरिएको छ ।
मुलुकका कति जनसंख्या वित्तीय पहुँचमा छन् ? के कतिले वित्तीय सेवा लिएका छन् भन्नेलगायत विषयको अद्यावधिक तथ्यांक खोज्न अनुसन्धान शुरु गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई परिपत्र गरी वित्तीय पहुँचबारे जानकारी माग गरिसकेको छ । बैंकहरूले दिएको खाता संख्यालगायतका आधारमा वित्तीय पहुँच ६० प्रतिशत जनसंख्यामा पुगेको प्रारम्भिक आँकडा राष्ट्र बैंकले निकालेको हो ।