काठमाडौँ — करिब दुई वर्षअघिदेखि अध्ययन सुरु भएको भनिएको ‘छाया बैंकिङ’ बारे अनुसन्धान अझै टुंगिएको छैन । राष्ट्र बैंकले छाया बैंकिङबारे स्पष्ट धारणा र विधि तय गर्न नसक्दा अनुसन्धान पूरा हुन नसकेको हो ।
सुरुमा राष्ट्र बैंकले अध्ययन सुरु गरे पनि सरकारको एक निकायबाट अनुमति पाएर सञ्चालन भएका सहकारी संस्थालाई छाया बैंकिङ मान्ने कि नमान्ने, हुन्डी, ढुकुटीलगायत क्षेत्रको तथ्यांक कसरी संकलन गर्ने भन्नेबारे स्पष्ट दिशानिर्देश हुन नसक्दा छाया बैंकिङको अनुसन्धान पूरा नभएको राष्ट्र बैंकका एक सञ्चालकले बताए । ‘एक–दुई चरणमा सम्बन्धित समितिमा छलफल भएको थियो, त्यहाँ सहकारीलाई छाया बैंकिङ कसरी मान्ने, हुन्डी, ढुकुटी, मिटर ब्याजलगायतको तथ्यांक कसरी संकलन गर्ने, तीनको प्रामाणीकरण विधि के लगायत विषयमा प्रश्न उठेको थियो,’ ती अधिकारीले भने, ‘त्यसपछिका बैठकमा छाया बैंकिङबारे विषय नै आएको छैन ।’