काठमाडौं : केन्द्रीय बैंकको नीतिपछि बैंकहरुले चुक्ता पुँजीको २५% ऋणपत्र जारी गर्नैपर्ने भएको छ । ऋणपत्र बिकाउन ब्याजदर पनि आकर्षक हुने संकेतहरु देखिएका छन् । किन भने १०.२५% सम्म ब्याज दिंदा पनि वाणिज्य बैंकहरुले निर्धारित समयमा ऋणपत्र बिकाउन सकेका छैनन् । आगामी दिनमा केन्द्रीय बैंकले अंकुश नलगाउने हो भने ऋणपत्रको ब्याज अझै माथि जाने देखिन्छ । ऋणपत्रमा ब्याज बढी दिएपछि मुद्दति निक्षेपका लगानीकर्ता यतातर्फ आकर्षित हुन सक्ने अनुमानहरु पनि गरिएका छन् ।
यद्दपि, मुद्दति निक्षेपको अवधिभन्दा पनि ऋणपत्रको समय निकै लामो हुन्छ । सामान्यतयः ७ देखि १० वर्ष अवधिसम्मका ऋणपत्र जारी भइरहेका छन् । ऋणपत्रको अवधि ५ वर्षभन्दा माथि कै हुने भएकाले स्थिर ब्याजदरमा होल्ड हुने समय तुलनात्मक रुपमा लामो हुन्छ । यसर्थ, मुद्दति निक्षेपकर्ता कत्तिको आकर्षित हुन्छन् भन्ने ठ्याक्कै अनुमान लगाउन अलि गाह्रो नै पर्छ ।







