काठमाडौ । एनआईसी एसिया बैंकले अन्धाधुन्दा रुपमा घरजग्गामा लगानी गरेपछि राष्ट्र बैंकले उक्त बैंकलाई चेतावनी दिँदै जथाभावी लगानी नगर्न निर्देशन दिएको छ । केही समय अघि केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले आधा दर्जन बैंकको ऋण लगानी सम्बन्धमा अनुसन्धान गरेको थियो । तीमध्ये केहीले जथाभावी घरजग्गमा ऋण लगानी गरेको निष्कर्ष निकालेको थियो ।
‘आधा दर्जन वाणिज्य बैंकमा सुक्ष्म अनुसन्धान गर्याैं, तीमध्ये एनआईसी एसियालगायतले कर्जा लगानीमा जथाभावी गरेको देखियो । ’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने–‘एनआईसी एसियाले घरजग्गामा गरेको लगानी नघटाए कारबाही हुन्छ ।’
कारबाहीबाट बच्न एनआईसी एसियाले अनेक उपाय अपनाएको पाइएको राष्ट्र बैंकको भनाइ छ । उक्त बैंकले त्यसरी गरेको लगानी घटाउने तयारीमा लागेको भए पनि सकेको छैन । घरजग्गामा अन्धाधुन्दा लगानी गर्दा जोखिम बढ्छ । बैंक डुब्छन् । जनताको पैसा पनि डुब्छ । त्यसकारण पनि केन्द्रीय बैंक उक्त व्यवस्था कडाइका साथ लागू गर्न एनआईसी एसियालाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई उक्त क्षेत्रमा जाने कर्जा सिमाभित्र राख्न र आक्रामक रुपमा कर्जा लगानी नगर्न निर्देशन दिएको छ ।‘ बैंकलाई आक्रामक रुपमा घरजग्गामा कर्जा लगानी नगर्न भनेका छौं, कर्जा लगानी घटाउन निर्देशन दिएका छौं,’ केन्द्रीय बैंकका ती अधिकारीले भने । एनआईसी एसिया बैंक घरजग्गामा लगानी गरेको ऋण उठाउन नसक्दा समस्यामा पर्दै गएको छ । उसले त्यस्तो ऋण खराब कर्जामा राखेको छैन् । ऋण नवीकरण गरेको भन्दै असल कर्जामा नै राख्दै आएको छ ।