गत असार मसान्तसम्म तोकिएको चुक्ता पुँजी पुर्याउने समय सीमा बमोजिम ८ जीवन बीमा कम्पनीमध्ये वटाले मात्र पुर्याएका छन् । कम्पनीले सार्वजनिक गरेको गत असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नेपाल लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स र नेसनल लाइफ इन्स्योरेन्सले मात्र तोके बमोजिम चुक्ता पुँजी पुर्याएका हुन् ।
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड ६० लाख ६० हजार छ । त्यस्तै एसियन लाइफले २ अर्ब १ करोड ७ लाख ६० हजार चुक्ता पुँजी कायम गरेको छ भने नेसनल लाइफ ३ अर्ब ७४ लाख ४० हजार पुर्याउन सफल भएको छ ।
असार मसान्तपछिको अवस्थाामा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले पनि तोके बमोजिम चुक्ता पुँजी कायम गरेको छ । कम्पनीले साउन २४ गते वार्षिक साधारणसभा सम्पन्न गरी आव २०७४/०७५ को मुनाफाबाट ३४ दशमलव ४६ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले निर्धारित चुक्ता पुँजी पुर्याएको हो । उक्त बोनसपश्चात् कम्पनीको चुक्तापुँजी २ अर्ब ९९ लाख ५९ हजार पुगेको छ ।
हालसम्म सबैभन्दा कम चुक्तापुँजी राष्ट्रिय बीमा संस्थानको छ । १८ करोड १० लाख चुक्ता पुँजी रहेको संस्थानले पुँजी वृद्धिका लागि बोनस, हकप्रद शेयर र आईपीओको बाटो रोजेको छ । आव २०७४/०७५ मा संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व कायम भएपछि हुने चुक्ता पुँजी ४५ करोड ८५ लाखको १ बराबर ३ दशमलव ३७ को अनुपातमा १ अर्ब ५४ करोड ५१ लाख ४५ हजार बराबरको हकप्रद शेयर जारी गर्ने योजना संस्थानको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने तयारीमा संस्थान रहेको हो ।
हकप्रदपश्चात् संस्थानको चुक्तापुँजी २ अर्ब ३६ लाख ४५ करोड पुग्नेछ । संस्थानले बीमांकीय मूल्यांकनबाट प्रक्षेपित अनुमानित बोनस शेयरमा थपघट हुन गएमा हकप्रद शेयर प्रतिशतमा पनि हेरफेर हुन सक्ने बताएको छ । गत कात्तिक १७ गतेको ३०औं वार्षिक साधारणसभाबाट आव २०६५/०६६ सम्मको वार्षिक लेखापरीक्षण प्रतिवेदन पारित गरेको संस्थानले त्यसपछिको वार्षिक साधारणसभा गर्न सकेको छैन ।







